अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नरभक्षी बाघलाई चिडियाखानामा राखियो, महाराजाको जोडी बनाउने तयारी 

नरभक्षी बाघलाई चिडियाखानामा राखियो, महाराजाको जोडी बनाउने तयारी 


कञ्चनपुर-कञ्चनपुरको शुक्लाफाँंटा राष्ट्रिय निकुञ्ज क्षेत्रको नरभक्षी बाघलाई नियन्त्रणमा लिई आइतबार सदर चिडियाखाना, जावलाखेलमा ल्याइएको छ । 

निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकको सहयोगमा बाघलाई सदर चिडियाखाना, जावलाखेलमा राखिएको हो । वैशाख ८ गते कञ्चनपुर, बेलौरी नगरपालिका–८ पचुई गाउँ क्षेत्रमा पर्ने खप्टी नालामा ४२ वर्षीया गंगादेवी चन्दलाई आक्रमण गरेको थियो । आक्रमणपछि उहाँको निधन भएको थियो । अन्य महिला भाग्न सफल भई उद्धारका लागि कुण्डा सब डिभिजन वन कार्यालयमा खबर गरेपश्चात आक्रमणमा परेकी महिलाको उद्धार र बाघ नियन्त्रण कार्यमा डिभिजन वन कार्यालय कञ्चनपुर, निकुञ्ज कार्यालय (हात्तीसहित), नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, कोषको शुक्लाफाँटा संरक्षण कार्यालयलगायतका निकाय क्रियाशील भई बाघ नियन्त्रणमा लिई चिडियाखानामा ल्याइएको हो ।

बाघ नियन्त्रणमा लिई चिडियाघरमा ल्याइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरद अधिकारीले बाघले धेरै मानिसहरुलाई क्षति गरेकाले नियन्त्रणमा लिई चिडियाखानामा राखिएको बताउनु भयो । उहाँले अहिले चिडियाखानामा ४ वटा बाघ राख्नसक्ने क्षमता भएपनि ५ वटा बाघ रहेको बताउनु भयो ।

उहाँले आइतबार ल्याइएको बाघसहित ५ वटा बाघमध्ये ४ वटा भाले बाघ र एउटा पोथी बाघ रहेको बताउनु भयो । उहाँले चिडियाखानामा एउटा महाराजा नामक बाघ रहेको र उसलाई जोडी बनाउने गरी कञ्चनपुरबाट ल्याइएको बाघ महारानी नाम दिएर राख्ने योजना रहेको बताउनु भयो । 

उद्धार गरिएको पोथी बाघ अन्दाजी पाँच वर्ष उमेरको रहेको र घटना भएको क्षेत्र नजिकको भारतीय वन क्षेत्रमा विगत एक महिनाको अवधिमा थप दुई जना (एक जना नेपालीसहित)को बाघका कारण ज्यान गएको पाइएको सदस्यसचिव अधिकारीले बताउनु भयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वरपरको क्षेत्रमा ३६ वटा वयस्क पाटेबाघ रहेको अनुमान गरिएको छ । 

Skip This