काठमाडौं – नेकपा एमालेले २०७९ फागुन देखि दुई महीना मिसनग्रासरुट अभियान अर्थात् पार्टी सुदृढीकरण तथा संगठन विस्तार अभियान सञ्चालन गर्यो । केन्द्रीय सदस्यहरू पालिका स्तरमा, प्रदेश र जिल्ला सदस्यहरू वडा र टोलसम्म पुग्ने कार्यविभाजन बन्यो । यो अभियानको मुख्य उद्देश्य विद्यान अनुसार पार्टीका गतिविधि बढाउनु थियो । केन्द्रले विद्यान अनुसार काम गर्न प्रतिनिधि नै खटायो । केही प्रतिनिधिहरू तोकिएकै समयमा आफ्ना काममा पुगे। केही औपचारिक रूपमा अभियान शुरू गरेर समापन पनि गरे।
नेताले अह्राएको मान्ने कार्यकर्ता भएका ठाउँका ठीक ठीक काम भए । कागजमा काम गर्ने नेताहरूका लागि भने यही काम कहिले जाला घाम जस्तै बन्यो । कतिपय ठाउँमा भने कामकाजी कार्यकर्ता पनि मिचिएको देखियो । काम नगर्ने, पार्टी छोड्ने, अनि अधिवेशन, चुनाव र टिकटका बेला फेरी छोडेको पद भन्दा एक तह बढुवा भई पार्टीमा नेता बनेर आउने प्रवृति देखेपछि इमान्दार कार्यकर्ता प्रायः निस्क्रिय छन् । कमिटीमा रहेका मध्ये पनि आधा मात्रै सक्रिय छन् । स्थानीय नेता तथा अभियन्तालाई भन्दा सबै त कहाँ लाग्छन् र ? नेतामा आलोचत्माक चेतको कुरा गर्दा बिरोध सम्झने । चाकडी खोज्ने र कुरा उठाउनेलाई हेप्ने प्रवृति झाँङ्घिदै गएको देखिन्छ। चाकडीवालालाई तुरुन्तै नेतृत्वमा पुर्याउने, अवस्थाले पार्टीको नेतृत्व समाजमा थप मजबुद हुने भन्दा ओरालो लाग्दो अवस्थामा छ। पार्टीका कुरा उठान गर्न सम्बन्धित कमिटीहरूमा राख्न समय व्यवस्थापन गर्न कठिनाइ हुने। नेता समक्ष आलोचनात्मक छलफल गर्दा नकरात्मक दृष्टिकोण राख्ने हुँदा दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता परास्त होइन थप मलजल भएको देखिन्छ।
जननेता कमरेड मदन भण्डारीले भन्नुहुन्थ्यो ‘सिद्धान्तका लागि जीवन होइन जीवनका लागि सिद्धान्त हुनुपर्छ ।’ आज हाम्रा नाराहरू जीवनका लागि होइन सिद्धान्तका लागि जस्तो देखिने गरेको छ । त्यस्तो देखिनुमा संगठनात्मक अराजकता नै हो । सत्य भन्दा पनि मित्था तथ्यांक जोडेर दुरुस्तै हो रै छ भन्ने बनाउने कस्मेटिक तयार हुँदा आन्दोलनलाई धक्का मात्रै होइन प्राप्त उपलब्धिहरू समेत सकिएर जाने खतरा छ। २०४८ साल देखि भएका आम निर्वाचन, स्थानीय निकाय, तहको निर्वाचनका नतिजा र त्यस पछिको नेतृत्वले राष्ट्र राष्ट्रियता र जनजीविकाका सवालको सम्बोधन नागरिक स्तरमा मापन गरेर खोजिएको छ । अभियानको क्रममा कार्यकर्ताले पनि टोल स्तरमा उपलब्धिहरू केलाउने काम गरे। २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको अल्पमतको सरकारले सामाजिक सुरक्षा, गाउँको विकासका बारेमा लिएको नीतिको छाप स्थानीयमा छ ।
त्यसपछि बनेका वामपन्थी सरकारले गरेका काम औंलामा भाँच्न मिल्ने देखिंदैन । पछिल्लो पटक पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधामन्त्री हुँदा थालिएका कामहरू स्मरण योग्य छन् । ती कामका बारेमा पार्टी पंतिmबाट नागरिक स्तरमा पु¥याउने काम खासै भएको छैन। सामाजिक सञ्जाल र अन्य केही माध्यमबाट थाहा पाउने भन्दा अन्य काम भएका छैनन्।
नेता समक्ष आलोचनात्मक छलफल गर्दा नकरात्मक दृष्टिकोण राख्ने हुँदा दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता परास्त होइन थप मलजल भएको देखिन्छ।
भारतले गरेको नाकाबन्दीको सामाना होस् या राष्ट्रियताको सवालमा होस् केपी शर्मा ओली सरकारले लिएका ऐतिहासिक निर्णयहरूले उत्साहित बनाउने काम कार्यकर्ता तहसम्म पुगेको देखिन्छ । नेपाली हुनुमा गर्व गर्छु भन्ने नागरिक बनाउनु पर्छ भन्ने सन्देश ग्रासरूटको छ । गाउँ स्तरमा राम्रो खानेपानी योजना, राम्रो सामुदायिक वन, राम्रो सामुदायिक बिद्यालय बनाउने एमाले कार्यकर्ताहरू जनताको बीचमा लोकप्रिय छन् । आधारभूत कुराको सम्बोधन नागरिकले खोजेका छन् । सडक, विद्युत, खानेपानी, स्वास्थ्य, शिक्षा र रोजगारीका काम प्रत्यक्ष लाभ हुने गरी नागरिकले खोजेका छन् । शुसासन र सेवामा सरलता मुख्य नागरिकका अपेक्षा हुन् ।
पार्टीका नेताका कार्यशैली फेरिनुपर्ने आम धारणा छ । नेकपा (एमाले) कावासोती वडा–४ वडाध्यक्ष प्रशान्त चापागाईले पार्टीको लेवी र एमालेको जबजका बारेमा कुरा गर्न मात्र बैठक बसेर पार्टी बलियो नहुने धाणा राख्दछन् । वडा, पालिका, प्रदेश चुनाव जित्दा पनि आधारभूत कुरामा परिवर्तन हुदैन भने जनतालाई आकर्षण गर्न जनप्रतिनिधिले राम्रो काम गर्न पर्दैन ? उनको प्रश्न छ राज्यको सम्पति दोहन गर्दा ठूलो हुँ भन्ने हैसियत देखाउन चुनाव जिताउने हैन नि ? एउटा पुस्ता सकिन लाग्यो हसौराको जमिनको समस्या हल हुुन्न अनि तलदेखि माथिसम्म जिताएर के हुन्छ उनले आक्रोश व्यक्त गर्दै भने–जनताको सामान्य कुरा पनि पुरा नहुने अवस्थामा कसरी पार्टीका गतिविधिहरू जनताको बीचमा जान्छन् त ? स्थानीय तहदेखि संघीय सांसद सम्मको व्यवहार र काम गर्ने हुटहुटी कार्यकर्ताले खोजेका छन् ।
देशमा रहेका सबै वामपन्थी शक्तिहरूलाई भेट्ने एकता गराउने भन्ने अभियान भन्दा राम्रा काम गरेर कार्यकर्ता र नागरिकलाई गोलबन्द गनुपर्ने बुलिङटार–४ वडाध्यक्ष कुलबहादुर ठाडाले बताउनु भयो । अहिले नेता हुनुभनेको कार्यकर्तालाई पाल्नुपर्छ भन्ने छ पहिला कार्यकर्ताले नेता पाल्थे । काम हुन्थ्यो नेता इमान्दार थिए । अहिले नेतामा आडम्बर हुँदा जनताको बीचमा जान समस्या छ।
गाउँ स्तरमा राम्रो खानेपानी योजना, राम्रो सामुदायिक वन, राम्रो सामुदायिक बिद्यालय बनाउने एमाले कार्यकर्ताहरू जनताको बीचमा लोकप्रिय छन्।
गाउँका टाठाबाठाका छोराछोरीहरू शहर र विदेशमा उच्च शिक्षा हासिल गर्न गइसके । तर बाबु हजुरबाबु नै नेता बनेर आउछन् हामी लेबी उठाउदै बसेर चुनाव जितिन्छ त ? भोलिको पुस्तासँग कसरी ट्याकल गर्ने हो भन्ने रणनीति चाहिन्छ । अहिले विचारले समाजलाई लिड गरेको छैन समाजमा के भन्दा मान्छे खुशी हुन्छन् भन्दै विचार बोक्नेहरु लतारिएका छन् । समाजलाई राजनैतिक बिचारले लिड गर्नुपर्छ । पुष्पलाल, मदन भण्डारीहरुले विचारले लिड गरे । आज तिनै विचार बोक्नेहरूको व्यवहार हेरेर नागरिकले धारणा बनाउदैछन् हामीले सोच्नुपर्छ।
ग्रासरुटका संगठनहरु कोठामा बसेर बनाइएका छन् । तिमी त्यहाँको पदमा छौ भनिदिएको छ नेतृत्वले । न मिटिङ्ग, न त एजेन्डा माथि छलफल । माथिल्लो निकायले संगठनका नाम र आफ्ना मान्छे मात्र खोजेको छ । अब पनि यस्तै हो भने पाँच वर्षपछि संगठनको पद हुन्छ मान्छे हुँदैन । कमिटी छ अध्यक्ष विदेश उपाध्यक्ष विदेश । सचिव फुर्सद छैन । अरु पदाधिकारी जागिरे । कमिटिका हालत यस्तो छ । अझ पार्टी कमिटी यत्ति भद्दा छन् वडा कमिटी ३१, पालिका कमिटि ७५, जिल्ला कमिटि १४० यी पदले पनि नपुगेर विद्यान अनुसार कमिटी छैनन् । यो कुरा नेतालाई पनि थाहा छ । आफ्नो कमिटी प्रणााली सच्चाउन नसक्ने हो भने कसरी अगाडि बढ्न सकिन्छ त भन्ने मुख्य प्रश्न मिसन ग्रासरूट अभियानमा उठेको छ ।
कमिटिहरू चुस्तदुरुस्त बनाउनु पर्यो भन्दा .कमिटीले काम गर्दैन । यो रिसाउछ कि उ रिसाउछ कि भन्दै पद सृजना गर्दै जाँदा सम्हाल्न नसक्ने भद्रगोल अबस्था निम्तने खतरा छ ।
अब पार्टीको काम गर्ने मान्छेलाई मात्र होइन गाउँ ठाउँमा राम्रा काम गरेका सामाजिक अभियान्तालाई पार्टीले टिकट दिनुपर्ने विचार ग्रासरूटमा छ।
मिसन ग्रासरूट अभियानमा सही निष्कर्ष निकाल्नुपर्छ । हाम्रा वास्तविक पार्टी सदस्यहरू भन्दा बढी संख्या देखाएर अधिवेशन र महाधिवेशनमा आफू प्रतिनिधि बन्न नेताहरूले फेक सदस्यहरू थपेका छन्। मिसन ग्रासरूटमा जाँदा अहिले यो समस्या टड्कारो रुपमा देखियो । सदस्यमा नाम छ मान्छे छैन । अहिले मानिसको फिजिकल उपस्थितीमा मात्र सदस्यता नविकरण गर्ने भनिएको छ । जसले गर्दा ग्रासरुटमा अधिकांश ठाउँको पार्टी सदस्यता नविकरणको काम सकिएको छैन । केन्द्र देखि सेल कमिटीसम्म बनेका कमिटीहरू कामयावी छन् त ? त्यहाँ राखिएका कमरेडहरू उक्त ठाउँको जिम्मेवारी पूरा गर्न सक्ने हैसियतमा छन् त ? नेतृत्वले यस कुराको गम्भिर समिक्षा गर्नु जरूरी छ ।
पार्टीका नेताहरू अब सूचना प्रबिधि मैत्री हुनुपर्दछ । अब पार्टीको काम गर्ने मान्छेलाई मात्र होइन गाउँ ठाउँमा राम्रा काम गरेका सामाजिक अभियान्तालाई पार्टीले टिकट दिनुपर्ने विचार ग्रासरूटमा छ । एमाले पार्टीको विचार राम्रो हुँदाहुँदै पनि व्यक्तिका कारण समस्या हुन सक्ने अवस्थालाई ख्याल गर्नुपर्ने सन्देश ग्रासरूट छ । पार्टीमा लाग्नु भनेको राजकीय पद नै पाउनु हो भन्ने भाष्यलाई चिर्नुपर्छ । सामाजिक न्याय, शुसासन, रोजगारीको समस्या हल हुने गरी पार्टी नेतृत्व लाग्नुपर्ने सुझाव ग्रासरूटको छ ।
(गिरी एमाले नवलपुरका युवा नेता हुनहुुन्छ।)




प्रतिक्रिया