अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश बनाउने अभिभारा एमालेको काँधमा छ: अध्यक्ष ओली

देश बनाउने अभिभारा एमालेको काँधमा छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई थप चलायमान बनाउनु पर्ने बताउनुभएको छ।

झापाको बुद्धशान्ति गाउँपालिकामा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टीलाई चलायमान बनाउनकै लागि मिसन ग्रासरुट सञ्चालन गरिएको बताउनुभयो।

एमालेलाई समाप्त गर्न गरिएको मोर्चा बन्दीलाई परास्त गरी देशले भोगिरहेको समस्या समाधान गर्न एमाले बलियो शक्तिको रूपमा स्थापित हुनुपर्ने ओलीले बताउनुभयो।

अध्यक्ष ओलीले पार्टीका आन्तरिक समस्या पार्टी भित्रै समाधान गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘साथीको बात नसहने तर शत्रुको लात सहने नगरौँ, यसले पार्टीलाई कमजोर बनाउँछ ।’

अध्यक्ष ओलीले देश बनाउने अभियान एमालेको काँधमा रहेको बताउनुभयो। सो अभिभारा पूरा गर्न पहिला एमाले बलियो हुनुपर्नेमा उहाँले जोड दिनुभयो। उहाँले हरेक घरमा सदस्य र हरेक टोलामा पार्टी पुर्‍याउने अभियानमा लाग्न निर्देशन दिनुभयो। यसो भयो भने २०८४ सालमा हुने निर्वाचनमा एमालेले सबै तहमा बहुमत ल्याउने ओलीको दाबी छ। देश भित्र मात्र होइन विश्वमा नेपाली पुगेका सबै देशमा नेकपा एमाले पुगेको उहाँले बताउनुभयो। गाउँ, बस्ती, सहर, देश विदेश जहाँ पनि एमालेको संगठन पुगेको उहाँले बताउनुभयो। ‘जहाँ नेपाली, त्यहाँ एमाले’, उहाँले भन्नुभयो।

नेकपा एमाले र देश माथि अहिले चौतर्फी घेराबन्दी रहेको ओलीले बताउनुभयो । त्यो घेराबन्दी तोड्न सिङ्गो एमाले पङ्गती खट्नु पर्नेमा ओलीले जोड दिनुभयो।

कार्यक्रममा नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङले पनि बोल्नु भएको नेकपा एमाले झापाका अध्यक्ष एवं कोसी प्रदेश सभा सदस्य होमबहादुर थापाले जानकारी दिनुभयो।

कार्यकर्ता भेटघाट सकेर अध्यक्ष ओली इलाम तर्फ लाग्नु भएको छ। उहाँ आज इलाममा बास बस्ने र भोलि इलाममा हुने कार्यक्रममा सहभागी हुने कार्य तालिका रहेको छ।

Skip This