विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्व मजदुर दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्नुभएको छ।
प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरबाट जारी विज्ञप्तिमा उहाँले सम्पूर्ण श्रमजीवी वर्गको यो विशेष दिन १३४औँ विश्व मजदुर दिवस/अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा विश्वभरी छरिएर रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवीमा शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले आफ्नो अधिकारको माग गर्दै अमेरिकाको शिकागो सहरमा मजदुरले गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका श्रमिकको सम्झनास्वरूप सन् १८८९ को मे १ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको जारी शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
आजको दिनलाई विश्वभरीका मजदुर तथा श्रमजीवी वर्गले आफ्नो आन्दोलनको महत्वपूर्ण उपलब्धि आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन लगायतका आधारभूत हकअधिकार प्राप्तिको दिनका रूपमा स्मरण गर्ने गरेको मुख्यमन्त्री कार्कीले उल्लेख गर्नुभएको छ। उहाँले नेपालको हरेक राजनीतिक–सामाजिक परिवर्तनमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको प्रवाह नगरी ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको भनी उल्लेख गर्नुभएको छ ।
शुभकामना सन्देशमा विसं २००७ मा कोशी प्रदेशको औद्योगिक नगरी विराटनगरबाट नै श्रमिक मजदुरले प्रजातन्त्रको विगुल फुकेको उल्लेख गरिएको छ । “नेपाली समाजको युगान्तकारी परिवर्तनका लागि श्रमजीवी वर्गले पु¥याएको योगदानप्रति आजको विशेष दिनमा म उच्च सम्मान प्रकट गर्दछु”, मुख्यमन्त्री कार्कीले भन्नुभएको छ।
नेपालको संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएकाले सोहीअनुसार श्रमजीवी वर्गको अधिकार कार्यान्वयन गर्न श्रम ऐन, २०७४ र सामाजिक सुरक्षा ऐन २०७५ लगायतका विभिन्न ऐन कानुनको निर्माण भएको मुख्यमन्त्री कार्कीले उल्लेख गर्नुभएको छ । सरकारी तहबाट निर्माण भएका ती ऐन कानुनको पूर्ण कार्यान्वयनका लागि आवश्यक भूमिका निर्वाह गर्न कोशी प्रदेश सरकार पूर्णरूपमा प्रतिवद्ध रहेको कुरा अवगत गराइएको छ।
विश्व मजदुर दिवसका अवसरमा सम्पूर्ण श्रमिजीवी नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गदै नेपाली श्रमिक तथा तिनका प्रतिनिधि टेर्ड युनियनलाई श्रमिकको हकहित संरक्षणका निम्ति सङ्गठित र एकताबद्ध भएर अघि बढ्न सफलता मिलोस भन्दै सबैमा शुभकामना मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ।




प्रतिक्रिया