अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भुटानी शरणार्थी प्रकरणमा मिडिया ट्रायल भयो, निष्पक्ष अनुसन्धान होस्: डा. प्रकाशशरण महत

भुटानी शरणार्थी प्रकरणमा मिडिया ट्रायल भयो, निष्पक्ष अनुसन्धान होस्: डा. प्रकाशशरण महत


काठमाडौं – नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष र स्वतन्त्र हुनुपर्ने बताएको छ। साथै यस प्रकरणका कुनै पनि दोषी उम्कन नहुने र निर्दोष व्यक्तिलाई जबर्जस्ती फसाउने काम कतैबाट हुन नहुने कांग्रेसको भनाइ छ। 

कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले आज यहाँ पत्रकार सम्मेलन गरी सो प्रकरणबारेमा पार्टीको धारणा स्पष्ट पार्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्ने र यसमा पार्टीको सहयोग रहने स्पष्ट पार्नुभयो।

उहाँले सामाजिक सञ्जाल एवं कतिपय मिडियामा ‘मिडिया ट्रायल’ पनि भइरहेको आफूले पाएको भन्दै निर्दोष व्यक्तिलाई पनि दोषी देखाउने प्रयत्न भएकोप्रति खेद प्रकट गर्नुभयो।

कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाको हालसम्म सो प्रकरणमा कुनै पनि दोष नदेखिएको र प्रमाण समेत नपाइएको अवस्थामा पनि सामाजिक सञ्जालमा ‘फेक अडियो’ बनाएर केही व्यक्तिले उहाँको बदनाम गर्न खोजिरहेको तथा यस्तै प्रकृतिका समाचारहरु कतिपय सञ्चारमाध्यममा आएको प्रवक्ता डा महतको भनाइ थियो।

सांसद डा. राणाले आफ्नो बदनाम गर्न फेक अडियो बनाउनेलाई काराबाहीका लागि प्रहरीसमक्ष निवेदनसमेत दिइसकेको जानकारी गराउँदै प्रवक्ता डा. महतले भन्नुभयो, ‘उहाँले फेक अडियो बनाउनेलाई कारबाही गर्न उजुरी गर्नुभएको छ। तर अहिले सामाजिक सञ्जालबाट ट्रायल गरेर दोषीझैँ व्यवहार भइरहेको देखिएको छ। यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। अडियो झुटो हो भन्ने हाम्रो पूर्ण विश्वास छ।’

सोही प्रकरण अनुसन्धानका क्रममा प्रहरी हिरासतमा पर्नुभएका कांग्रेस नेता बालकृष्ण खाणले आफू निर्दोष छु, सावित गर्छु, भनेकाले पार्टीले निलम्बन नगरेको पनि उहाँले स्पष्ट गर्नुभयो।

यस प्रकरणमा पार्टी सभापति किन मौन भन्ने प्रश्नको जवाफमा उहाँले भन्नुभयो ‘पार्टी सभापति शेरबहादुर देउवाले पनि सो प्रकरणमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्ने बताउँदै आउनुभएको छ, तपाईंहरुलाई थाहै छ उहाँको कम बोल्ने बानी छ, कांग्रेसको स्पष्ट धारणा पनि यही हो कि यस प्रकरणको निष्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्’, प्रवक्ता डा. महतले बताउनुभयो ।

Skip This