काठमाडौं-नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघ, केन्द्रीय समितिले अनेरास्ववियुका अध्यक्ष दीपक धामीसहित विद्यार्थी नेताहरूको गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाएको छ।
महासंघले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत शान्तिपूर्ण तथा लोकतान्त्रिक अधिकारको प्रयोग गर्दै गरिएको सांकेतिक विरोध प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरूलाई पक्राउ गर्नु लोकतान्त्रिक मूल्य-मान्यता र नागरिक स्वतन्त्रताविपरीत भएको उल्लेख गरेको छ।
विज्ञप्तिमा नेपालको संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण भेला, प्रदर्शन तथा विरोध गर्ने मौलिक अधिकारमाथि राज्यसत्ताको हस्तक्षेप लोकतन्त्र र विधिको शासनमाथिको प्रत्यक्ष प्रहार भएको बताइएको छ। जनताका जायज आवाजलाई संवाद र लोकतान्त्रिक प्रक्रियामार्फत सम्बोधन गर्नुपर्नेमा दमन, गिरफ्तारी र त्रास सिर्जना गर्ने प्रवृत्ति स्वीकार्य नहुने महासंघको भनाइ छ।
महासंघले गणेश नेपालीको आत्मदाह घटनापछि उत्पन्न जनचासोसँग सम्बन्धित विषयमा गरिएको सांकेतिक विरोधमाथिको दमनले राज्य संयन्त्रमा निरंकुश प्रवृत्तिको संकेत गरेको उल्लेख गरेको छ। लोकतन्त्रको आधार असहमतिप्रतिको सम्मान, बहुल विचारको स्वीकार्यता र जनमतप्रतिको उत्तरदायित्वमा निहित रहने भन्दै नागरिक अधिकार कुण्ठित गर्ने कुनै पनि कार्यले लोकतान्त्रिक संस्कृतिलाई कमजोर बनाउने चेतावनी दिइएको छ।
महासंघका अध्यक्ष दिपेन्द्र प्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा संविधान प्रदत्त अधिकार, लोकतान्त्रिक मूल्य–मान्यता तथा नागरिक स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण खेलकर्मी, युवा तथा लोकतन्त्रप्रेमी नागरिकलाई आह्वान गरिएको छ।
साथै, शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परेका अनेरास्ववियु अध्यक्ष दीपक धामीसहित सबै विद्यार्थी नेताहरूलाई बिनासर्त तत्काल रिहा गर्न तथा नागरिक अधिकारमाथिको दमनकारी व्यवहार अन्त्य गर्न सरकारसँग माग गरिएको छ।







प्रतिक्रिया