अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘३५ वर्षमा केही भएन’ भन्ने भाष्य योजनाबद्ध झुट र भ्रम हो: महेश बस्नेत

‘३५ वर्षमा केही भएन’ भन्ने भाष्य योजनाबद्ध झुट र भ्रम हो: महेश बस्नेत


काठमाडौंनेकपा (एमाले)का सचिव महेश बस्नेतले नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै विगतका सरकारहरूले हासिल गरेका विकास उपलब्धिहरूको चर्चा गर्दै ‘३५ वर्षमा केही भएन’ भन्ने भाष्यलाई योजनाबद्ध भ्रम र झुटको संज्ञा दिएका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको एक तुलनात्मक सामग्रीमा सचिव बस्नेतले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको अवधिमा भएका विकास निर्माणका काम र वर्तमान प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारसँग तुलना गरेका छन्। उनले विगत तीन दशकमा नेपालले पूर्वाधार, ऊर्जा, स्वास्थ्य, शिक्षा, खानेपानी, सामाजिक सुरक्षा तथा डिजिटल सेवाका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको दाबी गरेका छन्।

सचिव बस्नेतले हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्ग, सुरुङमार्ग, फास्ट ट्र्याक, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी आयोजना तथा जलविद्युत उत्पादनमा भएको वृद्धि जस्ता परियोजनालाई प्रमुख उपलब्धिका रूपमा उल्लेख गरेका छन्। साथै स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोष, राष्ट्रिय परिचयपत्र, नागरिक एप, स्थानीय तहमार्फत पूर्वाधार विस्तार तथा भूकम्पपछिको पुनर्निर्माणलाई पनि विकासका महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेका छन्।

त्यसैगरी सचिव बस्नेतले वर्तमान सरकारतर्फ संकेत गर्दै सडक विस्तार सुस्त भएको, लगानी र रोजगारीमा अपेक्षित सुधार नदेखिएको तथा दीर्घकालीन उत्पादनमुखी योजनाभन्दा प्रचारमुखी गतिविधिमा बढी ध्यान केन्द्रित भएको आरोप लगाएका छन्।

सचिव बस्नेतले पोलमा बत्ती, गमलामा फूल वा भित्तामा चित्र बनाउने काम मात्र विकास नभएको उल्लेख गर्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने रोजगारी, उत्पादन, लगानी र सुशासनमा परिणाम देखिनुपर्ने बताएका छन्।

सचिव बस्नेतले नयाँ आर्थिक वर्ष सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै परिवर्तनको नारासहित आएको सरकारले विगतका उपलब्धिभन्दा अझ राम्रो परिणाम दिन सक्नुपर्ने बताएका छन्। ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई थप गति दिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ।

नयाँ आर्थिक वर्ष २०८३/८४ को शुभारम्भसँगै…

आजबाट नयाँ आर्थिक वर्ष सुरु भयो। “बिगत ३५ वर्षमा केही भएन” भन्ने शुसिला र बालेनहरूले सरकार सम्हालेको पनि ९ महिना पूरा भयो। त्यसैले एकपटक निष्पक्ष रूपमा फर्केर हेरौँ। विगतका दशकहरूमा नेपालले के कस्ता उपलब्धि हासिल गर्‍यो?

मुख्य उपलब्धिहरू:

१. मेचीदेखि महाकालीसम्म हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग र पुष्पलाल मध्यपहाडी लोकमार्गको निर्माण तथा विस्तार।

२. उत्तर–दक्षिण करिडोर, चार लेन/छ लेन सडक, सुरुङमार्ग तथा काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) जस्ता राष्ट्रिय गौरवका आयोजना अघि बढे।

३. गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आए।

४. मेलम्ची खानेपानी आयोजना सञ्चालनमा आयो र एक घर–एक धारा अभियानमार्फत अधिकांश परिवारमा खानेपानीको पहुँच विस्तार भयो।

५. जलविद्युत उत्पादन करिब २२७ मेगावाटबाट ४,१०० मेगावाट पुग्यो, विद्युत पहुँच झण्डै ९८% जनसंख्यामा विस्तार भयो र नेपाल लोडसेडिङमुक्त भई विद्युत निर्यात गर्ने अवस्थामा पुग्यो।

६. देशभर आधारभूत अस्पताल, प्रादेशिक अस्पताल, गेटा अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल तथा स्वास्थ्य पूर्वाधार विस्तार भए।

७. स्वास्थ्य बीमा र योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागू गरियो।

८. राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत विद्यालय भवन, आईसीटी ल्याब, प्राविधिक शिक्षा र दिवा खाजा कार्यक्रम विस्तार भए।

९. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ब्लक, पकेट, जोन र सुपरजोन स्थापना गरिए।

१०. राष्ट्रिय परिचयपत्र, नागरिक एप तथा डिजिटल नेपाल अभियानमार्फत सरकारी सेवाहरू क्रमशः डिजिटल प्रणालीमा विस्तार भए।

११. स्थानीय तहमार्फत देशभर सडक, पुल, विद्यालय, स्वास्थ्य चौकी, खानेपानी तथा अन्य पूर्वाधार निर्माण भए।

१२. दैलेखको पेट्रोलियम, धौवादीको फलाम लगायत खानीहरूको अनुसन्धान अघि बढ्यो।

१३. भूकम्पपछि लाखौँ निजी घर, सरकारी भवन, विद्यालय, स्वास्थ्य संस्था तथा धार्मिक सम्पदाको पुनर्निर्माण सम्पन्न भयो।

१४. तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण, जनता आवास कार्यक्रम र फुसको छानो विस्थापन अभियान सञ्चालन भए।

१५. युवाका लागि सहुलियतपूर्ण ऋण, परियोजना तथा शैक्षिक प्रमाणपत्र धितोमा कर्जा दिने व्यवस्था लागू गरियो।

१६. प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा आयो।

१७. ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति लगायतका सामाजिक सुरक्षा भत्ताको दायरा र रकम विस्तार गरियो।

१८. संघीय संरचना कार्यान्वयन गर्दै ७ प्रदेश, ७५३ स्थानीय तह र संवैधानिक संस्थाहरू सञ्चालनमा आए।

१९. कालोपत्रे सडक देशका अधिकांश स्थानीय तहको केन्द्रसम्म पुग्ने गरी विस्तार भयो।

२०. इन्टरनेट र मोबाइल सेवाको पहुँच देशका अधिकांश बस्तीमा विस्तार भयो।

यी उपलब्धिहरू पर्याप्त छैनन्, अझ धेरै गर्न बाँकी छ। तर “३५ वर्षमा केही पनि भएन” भन्नु पुर्ण रुपमा योजनाबद्ध फिजाइएको झुट र भ्रम हो।

अब परिवर्तनको नारासहित आएको सरकारले यसभन्दा अझ उत्कृष्ट उपलब्धि हासिल गरोस् भन्ने शुभकामना छ। पोलमा बत्ती, गमलामा फूल वा भित्तामा चित्र बनाउने मात्र होइन, रोजगारी, उत्पादन, लगानी, सुशासन र जनताले प्रत्यक्ष अनुभूति गर्ने विकासमा परिणाम देखावस।

नयाँ आर्थिक वर्ष २०८३/८४ सफल रहोस्। समृद्ध नेपाल, सुखी नेपालीको अभियानले थप गति लिओस्। शुभकामना!

Skip This