काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय झूटलाई पनि सत्यका रूपमा प्रचार गर्ने प्रवृत्ति बढ्दै गएको टिप्पणी गरेका छन्। उनले यसलाई ‘महागोयबल्स’ शैलीको संज्ञा दिएका छन्।
शुक्रबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीको आधिकारिक वेबसाइट तथा मोबाइल एपको नवीन संस्करण सार्वजनिक गर्दै अध्यक्ष ओलीले समाजमा सत्य र असत्यको भेद मेटिने अवस्था सिर्जना हुन थालेको बताए। बारम्बार झूट दोहोर्याएर त्यसलाई सत्यझैँ स्थापित गर्ने प्रवृत्ति बढ्दै गएको उनको भनाइ थियो।
‘कालोलाई सेतो, सेतोलाई कालो, राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो देखाउने प्रवृत्ति बढेको छ। यसलाई पहिले गोयबल्स शैली भनिन्थ्यो, अहिले त त्योभन्दा पनि अगाडि बढेर महागोयबल्स शैली चलिरहेको छ,’ अध्यक्ष ओली भने।
अध्यक्ष ओलीले समाज नै झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता व्यक्त गर्दै सत्य बोल्ने संस्कार कमजोर हुँदै गएको जिकिर गरे। समाजलाई सही दिशामा डोर्याउन सूचना तथा सञ्चार प्रविधिको सकारात्मक उपयोग आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा एमालेको वेबसाइट र मोबाइल एपको नयाँ संस्करण उद्घाटन गर्दै अध्यक्ष ओलीले डिजिटल प्रविधिको प्रभावकारी प्रयोगमार्फत पार्टी संगठनलाई अझ सुदृढ, आधुनिक र जनमुखी बनाउन सकिने बताए। उनले सूचना प्रविधिको विकाससँगै राजनीतिक दलहरू पनि समयानुकूल रूपमा रूपान्तरण हुनुपर्नेमा जोड दिए।
एमालेले सार्वजनिक गरेको वेबसाइट तथा एपमार्फत पार्टीका गतिविधि, सूचना र संगठनात्मक कामलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।







प्रतिक्रिया