ललितपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश निसासिएर ऐँठनको अवस्थामा पुगेको टिप्पणी गरेका छन्। शुक्रबार केन्द्रीय कार्यालय च्यासलमा पार्टीको वेबसाइट www.cpnuml.org को नवीन संस्करण सार्वजनिकीकरणमा अध्यक्ष ओलीले भने– ‘समाजमा कानुन बर्खिलाप गर्ने कामको नेतृत्व सरकारले नै गरेको छ। संसद् लगायत राज्यका तीन वटै अङ्ग कार्यकारी नियन्त्रित छ।’
सडकमा विरोधको आवाज उठाउनेहरूलाई सरकारले नै सिभिल डे«समा मानिस पठाएर आक्रमण गर्न लगाउने तयारीमा रहेको अध्यक्ष ओलीले बताए । देश फाँसीवाद उन्मुख रहेकाले सत्यमा उभिएर यो स्थितिलाई तोड्नुपर्नेमा उनको जोड दिनुभयो।
एमाले अर्काको सहारा बिना उठ्नै नसक्ने लहरो नभई आफ्नै बुतामा उभिएको स्वतन्त्र र विशाल वृक्ष भएको अध्यक्ष ओलीले बताए। एमाले परिस्थितिसँग आत्तिने वा प्रतिकूलतामा निराश हुने पार्टी नभएको उहाँले प्रस्ट्याए।
अध्यक्ष ओलीले वर्तमान समाजमा सत्यलाई तोडमरोड गर्ने ‘महागोएबल्स शैली’ हाबी हुँदै गएकोमा चिन्ता व्यक्त गरे। कालोलाई सेतो र सुल्टोलाई उल्टो बनाएर भ्रम फैलाउने प्रवृत्ति तात्कालिक राजनीतिसँग मात्र नभएर सामाजिक संस्कृति र सभ्यताको रक्षासँग जोडिएको रणनीतिक विषय भएको उनले बताए।
सूचना प्रविधिको (आईटी) प्रतिस्पर्धामा पार्टी केही पछि परेको स्वीकार गर्दै अध्यक्ष ओलीले अब आफ्ना कमजोरीहरूलाई सुधारेर अगाडि बढ्ने बताए।






प्रतिक्रिया