अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

न्युकासल च्याम्पियन्स लिग छनोट नजिक 

न्युकासल च्याम्पियन्स लिग छनोट नजिक 


काठमाडौँ-प्रिमियर लिगमा गएराति न्युकासल युनाइटेडले ब्राइटनलाई ४-१ ले पराजित गर्दै अर्को सिजन च्याम्पियन्स लिगको छनोट नजिक पुगेको छ ।

घरेलु मैदानमा जितपछि न्युकासल तेस्रो स्थानमा कायम छ र शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाएको छ ।

डेनिस उनडाभको आत्मघाती गोलबाट २२औं मिनेटमा अग्रता लिएको न्युकासलका लागि डान बर्नले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै अग्रता दोब्बर पारे ।

उनडाभले ५१औं मिनेटमा गोल गर्दै ब्राइटनलाई खेलमा फर्काउने प्रायशः गरेका थिए । तर ८९औं मिनेटमा कलुम विल्सन र खेलको इन्जुरी टाइममा ब्रुनो गुइमारेसले गोल गरेपछि न्युकासलले सहज जित हात पार्‍यो ।

जितपछि न्युकासलले ३६ खेलबाट ६८ अंक जोड्दै तेस्रो स्थानमा छ । लिगमा दुई खेल खेल्न बाँकी हुँदा न्युकासलले पाँचौ स्थानको लिभरपुलमाथि ४ अंकको अग्रता बनाएको छ । न्युकासलले अब बाँकी दुई मध्ये एक खेल जितेमा शीर्ष चारमा पर्नेछ । यदि शनिबार लिभरपुल एस्टन भिल्लासँग पराजित भएमा पनि न्युकासलको शीर्ष चारमा स्थान पक्का हुनेछ ।

एक खेल कम खेलेको म्यानचेष्टर युनाइटेड ६६ अंकसहित चौथो स्थानमा छ । शीर्ष चारको होडमा न्युकासलसँगै युनाइटेड र लिभरपुल छन् । न्युकासलसँग हारेपछि ब्राइटनको भने शीर्ष चारको सम्भावना लगभग सकिएको छ ।-एजेन्सी