अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सबै केन्द्रीय सदस्यलाई एमालेले किन कार्यकारी बनायो ?

सबै केन्द्रीय सदस्यलाई एमालेले किन कार्यकारी बनायो ?


काठमाडौं-पार्टी सुदृढिकरणका लागि मिसन ग्रास रुट अभियान सकिएको दुई महीना नपुग्दै नेकपा एमालेले सबै केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको भौगोलिक जिम्मेवारी हेरफेर गरेको छ। व्यापक रूपमा गरिएको यस प्रकारको जिम्मेवारी हेरफेर किन भयो भनेर विभिन्न कोणबाट चर्चा भएका छन्।

गैह्र भूगोलमा खटाउदा पार्टी काममा चुस्तता आउने, कार्यकर्ता र नेता दुवैले नयाँपनको महसूस गर्ने खटाइएका नेताहरूका काममा केन्द्रित हुने, नयाँ भूगोलमा पार्टीका नयाँ अवसर र चुनौतीहरूको पहिचान हुने आदि कारणले पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई नयाँ भूगोलको जिम्मेवारी दिइएको हो।

एमालेले सातै प्रदेश र ७७ वटै जिल्लामा इन्चार्जको रूपमा स्थायी कमिटी सदस्य, पोलिटव्यूरो सदस्यलाई पठाएको छ। पोलिटव्यूरो नभएका ठाउँमा केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ।

अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अपानि अनुसार कार्यविभाजनको मुख्य उद्देश्य मिसन ग्रासरूटबाट पहिचान भएका संगठनात्मक समस्याहरूको समाधान गर्नु, काममा रहेको दोहोरोपन र अष्पष्टता हटाउने उद्देश्य रहेको छ। ‘नयाँ जिम्मेवारीले प्रत्येक पदाधिकारी तथा सदस्यको जिम्मेवारी मापन गर्न सहज बनाएको छ’ अपानिमा उल्लेख गरिएको छ।

पार्टीका उपमहासचिव विष्णु रिमालका अनुसार जमिन नेटकी कोही पनि व्यक्ति नेता नहुने भएकोले पार्टीले सबै नेतालाई जमिन उपलब्ध गराएको हो। ‘जमिन नटेको व्यक्ति नेता हुँदैन त्यसैले सबै नेतालाई पार्टीले जमिन दिएको छ’ रिमालले यो बेलासँग भन्नुभयो ‘कतै सहइन्चार्ज क्षमतावान भए पनि त्यसको जस इन्चार्जले लिने, कतै सहइन्चार्जले पार्टीको कुनै काम नगरे पनि इन्चार्जले गरेको कामको जस आफूले लिने अवस्था थियो। अब सबैलाई सानो भूगोलको भए पनि इन्चार्जको जिम्मेवारी दिइएको छ। नेताको कामको मूल्यांकन गर्न सहज होस भनेर पनि यसो गरिएको हो।’
फागुन देखि सञ्चालन गरिएको मिसन ग्रासरुटले बनाएका कार्ययोजनालाई कार्यन्वयन गर्ने जिम्मा भूगोलका इन्चार्जहरुले गर्नुपर्ने छ।
राजनीतिको मुल आधारको रूपमा रहेको भौगोलिक जिम्मेवारी नपाउँदा कतिपय नेताहरु असन्तुष्ट थिए। जसलाई सम्बोधन गर्दै एमालेले नेताहरूलाई पालिका तहसम्मै जोडेर हरेक केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी दिएर पठाएको छ। ‘पार्टी नेताहरूलाई कार्यकारी जिम्मेवारी दिइएको छ। अब कसले कति र कुन क्षमतामा पार्टीलाई बलियो बनाउने गरी काम गर्न सक्छ भन्ने एक वर्ष भित्रै परिणाम देखिन्छ’ पार्टी सचिव एवं मधेस प्रदेशका इन्चार्ज योगेश भट्टराई भन्नुहुन्छ ‘सधैं एउटै भूगोल र एकै प्रकृतिको काम गरिरहँदा भन्दा नयाँ भूगोलमा नयाँ नेता, कार्यकर्तासँग काम गर्दा कामले गति पनि लिन्छ। त्यसैले यो नेताहरूको कामको गतिलाई तिव्र पार्ने एउटा अवसर पनि हो ।’

एमालेका अर्का पदाधिकारीका अनुसार पार्टीका ग्रासरूटका कार्यकर्ता र मतदाताले पनि सधैं एउटै नेताको भाषण र प्रशिक्षण सुन्दा दिग्दारी पनि मान्ने गरेका छन् । त्यसैले नयाँ नेताले केही न केही नयाँ विचार, नयाँ योजना र नयाँ शैली प्रस्तुत गर्न सक्छन् जसले कार्यकर्तालाई उत्साही बनाउने र मतदातालाई एमालेतिर आकर्षित गर्न मद्दत पुग्दछ भन्ने पार्टीको धारणा छ।
जिल्लाका सहइन्चार्ज एवं पार्टीको विभाग उपप्रमुखहरूले आफ्नो भूमिका देखाउन पाइन, सहयोगी भूमिकामा मात्र रहें भन्ने गुनासोलाई सम्बोधन गर्न पनि सबैलाई कार्यकारी भूमिका दिइएको एक स्थायी कमिटी सदस्य बताउछन्।

एमाले पार्टी स्कूल विभागका कर्णाली इन्चार्ज विष्णु रिजालका अनुसार मिसन ग्रासरुटले कार्यकर्ता देखि मतदातामा केही न केही हलचल ल्याएको छ । एमाले जनतासँगै छ भन्ने सन्देश पुर्याएको छ। ‘मिसन ग्रासरुटको निरन्तरता, व्यवस्थापन र मजबुद बनाउनका लागि अहिलेको कार्यविभाजन कामयावी हुने अपेक्षा गरिएको छ’ रिजाल भन्नुहुन्छ ‘मिसन ग्रासरुटमा बनाएका कार्ययोजना अबको एक वर्षमा कार्यन्वयन गर्ने हो।’

पार्टीको यो सम्पूर्ण प्रयास २०८४ मा हुने आम निर्वाचनमा लक्ष्य राखिएको ‘मिसन १५०’ प्राप्तीका लागि भएकोे एमाले नेताहरुको भनाइ छ।