अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अवार्ड वितरण गर्न मापदण्डको खाँचो

अवार्ड वितरण गर्न मापदण्डको खाँचो


काठमाडौँ -चलचित्रकर्मीलाई प्रोत्साहन गर्न पुरस्कार (अवार्ड) प्रदान गर्ने गरिन्छ। यसको उदेश्य नै ती कलाकर्मीको आगामी कार्ययोजनामा प्रेरणा मिलोस् भन्ने हो। नेपालमा पनि अवार्डको सुरुआत यही कारण भएको हो। 

विसं २०४३ मा लायन्स क्लब काठमाडौँले आयोजना गरेको समारोहलाई पहिलो चलचित्रसम्बन्धी प्रदान गरिएको अवार्ड मानिन्छ। उक्त समारोहमा चलचित्रतर्फ कान्छी, अभिनेतातर्फ शिव श्रेष्ठ र अभिनेत्रीतर्फ शर्मिला मल्ल सर्वोत्कृष्ट घोषित हुँदै अवार्ड जित्नुभएको थियो । त्यसपछि अवार्ड गर्नेक्रम बढ्यो । नेपाल चलचित्र सङ्घले प्रदान गर्दै आएको ‘मोसन पिक्चर अवार्ड’ तीन वर्षमै बन्द भयो । सोही सेरोफेरोमा प्रिया सिने पत्रिकाले अवार्ड समारोह ग¥यो । तर दोस्रो संस्करणसमेत हुन पाएन । बिजी भन्ने अर्को चलचित्र अवार्ड गरिएको थियो । प्रियाजस्तै एक वर्षमै बन्द भयो । 

पछिल्लो केही वर्षयता नेपालमा बर्सेनि थुप्रै अवार्ड भइरहेका छन् । चलचित्र बाहेकका अन्य विधामा पनि उत्तिकै सङ्ख्यामा अवार्ड समरोह भइरहेका हुन्छन् । तर, बढ्दो अवार्ड आयोजनाले प्रतिष्ठा बढाउँन नसकेको गुनासो सुनिन्छ । अवार्ड समारोहमा पुग्दा नै कसले के पाउँदैछन् भन्ने अनुमान लगाउन सकिन्छ । किनकि उपस्थिति नै त्यहीअनुसार देखिन्छ । यो सम्पूर्णमा लागू नभए तापनि अधिकांशमा हुन्छ ।   

चलचित्र निर्देशकको छाता संस्था नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले अवार्ड हुनु राम्रो भए पनि गुणस्तरको सट्टा सङ्ख्या बढ्नु उचित नभएको बताउनुभयो । “अवार्डले उद्योगलाई चलायमान त बनाएको छ । तर, यसले व्यावसायिक उपलब्धि हासिल गरेको जस्तो मलाई लाग्दैन”, उहाँले भन्नुभयो, “प्रतिष्ठित अवार्ड भए राम्रो हुन्थ्यो । तर, अहिले भइरहेका अवार्डमा सन्तोषजनक हुने अवस्था निकै कम छ ।”

चलचित्र आधारभूतरूपमा मनोरञ्जन भए पनि यसको सम्बन्ध देश, अर्थ, समाज र कला–संस्कृतिसँग जोडिएको हुन्छ । यसैकारण यससँग जोडिएर हुने गतिविधिको चर्चा हुने गर्छ ।  नेपालमा आयोजना भइरहेका अवार्डमा नेपाल सरकारकोतर्फबाट आयोजना गरिने राष्ट्रिय दीर्घसाधना सम्मान तथा पुरस्कार, नेपाल चलचित्र प्राविधिक सङ्घको नेफ्टा अवार्ड, डिजिटल सिने अवार्ड, नेपाल चलचित्र विकास कम्पनी (एनएफडिसी) राष्ट्रिय अवार्ड, कामना चलचित्र अवार्ड, एलजी सिने सर्कल अवार्ड, बक्स अफिस चलचित्र अवार्ड, नेपाल चलचित्र कलाकार सङ्घको फान अवार्ड, इनास अवार्डलगायतका पुरस्कार तथा सम्मान छन् ।

उल्लेखित अवार्डमा नेफ्टाबाहेक अन्य नेपालमै आयोजना हुने गरेका छन् । यीमध्ये केही समारोह कोरोना महामारीपछि हुन सकेका छैनन् । अहिले चलचित्रसँगै गीतसङ्गीतको विधा समेटेर विभिन्न समारोह आयोजना हुने गरेका छन् । नेपालमा मात्र होइन, विदेशमासमेत ती अवार्ड समारोह सम्पन्न भइरहेका छन् । 

विदेशी भूमिमा नेपाली संस्कृति झल्काउने समारोह आयोजना गर्न सहज छैन । सीमित व्यक्ति र सीमिततामा विदेशी भूमिकामा गरिने त्यस्ता अवार्डकै कारण गरिमा घटिरहेको छ । यी यस्तै कारणले आफूले नेपालमै अवार्ड गरिरहेको ‘एलजी सिने सर्कल अवार्ड’ का अध्यक्ष दिनेश डिसीले बताउनुभयो । 

“विदेशमा अवार्ड गर्नेसँग मेरो गुनासो छैन । यद्यपि म भने नेपालमै व्यवस्थितरूपमा आफ्नो अवार्ड गरिरहेको छु”, उहाँले भन्नुभयो, “मलाई विदेशी भूमिमा अवार्ड गर्न प्रस्ताव आए । तर, समारोहमा उपस्थित हुने कलाकर्मीलाई नै लान अप्ठ्यारो पर्ने विदेशमा अवार्ड गर्ने योजना मेरो छैन ।” उहाँले नेपालकै अन्य स्थानमा ती समारोह आयोजना भए प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । 

नेपाली चलचित्रको बजार विस्तार गर्न आयोजना गरिने अवार्डको सङ्ख्या ठूलो भए पनि नेपाल भित्रै काठमाडौँबाहेक अन्य सहरमा त्यस्ता समारोह कमै आयोजना हुने गरेका छन् । कोशी र मधेस प्रदेशका कतिपय स्थानमा अझै नेपाली चलचित्र राम्रोसँग प्रदर्शन हुँदैनन् । मधेस प्रदेशको वीरगञ्ज, मलङ्गवा, जनकपुरजस्ता सहरमा भोजपुरी चलचित्रकै वर्चश्व छ । त्यहाँ बजार विस्तार गर्नसके नेपाली चलचित्रको घरेलु बजारमा आम्दानी बढ्ने निर्देशक समाजका अध्यक्ष पराजुलीको भनाइ छ । 
 
“निजीस्तरबाट प्रयास भए वा भएनन्, त्यसमा सोच्नेभन्दा पनि सरकारी भूमिका प्रभावकारी हुनुपर्छ । विदेशमा गरिने अवार्डलाई तराईका विभिन्न सहरमा गर्न पाए, बजारमा निर्माणमा पक्कै टेवा पुग्ने थियो । यद्यपि हामी विदेशी भूमिमा मात्र केन्द्रित छौँ”, उहाँले भन्नुभयो । 
अध्यक्ष डिसीले तराईका उल्लेखित सहरमा सरकारले नै नेपाली चलचित्र हेर्ने बानीको विकास गर्न उत्तरदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । “अवार्ड गर्दा टेवा त पुग्छ नै, दर्शक बढाउन पनि आवश्यक छ । विशेषत चलचित्र क्षेत्रलाई सम्बन्धित निकायले गम्भीरतापूूर्वक लिनु जरुरी छ”, उहाँले भन्नुभयो । 

अवार्डको ताँती तुलनात्मकरूपमा अझ बढी हुने देखिन्छ । तर, सङ्ख्या बढाउँदै गर्दा स्तरीयता खस्काउने काम भइरहेको छ । पछिल्लो समय अवार्डलाई विदेश जाने टिकेटका रुपमा हेर्न थालिएको छ । केही अवार्ड यस्ता भए, जहाँ लिने र दिने मात्र उपस्थिति रहे । दशक अगाडि आयोजना हुने अवार्डले रौनकता ल्याउँथ्योे । अवार्ड कति पारदर्शी थियो ? त्यसमा बहस त छँदैछ, यद्यपि पाउनेको चर्चा हुन्थ्यो नै । त्यसले करिअरमा समेत प्रभाव पाथ्र्याे । 

पछिल्लो समय यस क्षेत्रसँगै अन्य क्षेत्रमासमेत सकारात्मक सन्देश प्रवाह भएका छैनन् । सङ्ख्यासँगै प्रभावकारिता नबढ्दा गुणस्तरीय कायम गर्न नसक्नुले नै विश्वसनीयता गुम्न थालेको छ । नेपाल चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुस्कर लामाले सबै अवार्डलाई एउटैरुपमा बुझ्न नहुने बताउनुभयो । “अवार्ड कसले गरिरहेका छन् भन्ने बुझ्नु आवश्यक छ । हामीले विदेशी भूमिमा अवार्ड गरिरहेका छौँ । यसले नेपाली चलचित्रलाई टेवा पुगेको छ भन्नेमा विस्वस्त छौँ”, अध्यक्ष लामाले भन्नुभयो । 

नेफ्टाको अवार्ड विदेशमै बढी भएको छ । नेपाली चलचित्रमा काम गर्ने प्राविधिकको संस्थाले गर्ने अवार्ड भए तापनि त्यहा उनीहरुकै उपस्थिति कम देखिन्छ । किनकी दैनिकी ज्याला मजदुरीमा काम गर्ने प्राविधिक अवार्डमै सहभागी हुन् विदेश पुग्ने अवस्था निकै कमको छ । नेफ्टाले संयुक्तराज्य अमेरिकामा अवार्ड आयोजना गर्दैछ । ओस्कार र कान्स जस्ता प्रतिष्ठित अवार्ड पनि कहिलेकाहीँ विवादमा पर्छन् । तर, ती अवार्डको नियत र प्रक्रिया पारदर्शी हुने भएकाले बढी विश्वसनीय छन् । आयोजकको नियत, जुरीको क्षमता र योग्यता, मापदण्ड स्पष्ट नहुँदा अवार्ड मर्यादित हुन सकेको छैन । – रासस