अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखसँग दक्षिण कोरियाका राजदूतको भेट

सभामुखसँग दक्षिण कोरियाका राजदूतको भेट


काठमाडौं-सभामुख देवराज घिमिरेसँग आज दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क तइयोङले शिष्टाचार भेट गर्नुभएको छ।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदान प्रदान, आर्थिक विकास लगायतका विषयमा कुराकानी भएको छ। भेटमा सभामुख घिमिरेले आगामी वर्ष नेपाल र कोरियाको कुटनीतिक सम्बन्ध स्थापना भएको पचासौं वार्षिकोत्सवलाई विशेष महत्वका जनस्तरमा पनि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

सभामुख घिमिरेले दक्षिण कोरियामा ८५ हजार भन्दा बढी नेपाली श्रमिक कार्यरत रहेको बताउँदै नेपालको आर्थिक विकासमा कोरियाको सहयोग उल्लेखनीय रहेको बताउनुभयो। सभामुखले सामसुङले नेपालमा कारखाना सुरु गरेकोमा धन्यवाद दिँदै नेपालमा थप लगानी गर्न आग्रह गर्नुभयो।

बौद्ध जन्मस्थल लुम्बिनीमा कोरियाबाट उल्लेख्य पर्यटकहरु आइरहेको बताउँदै सभामुखले आगामी दिनमा पर्यटन आवागमन वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल–कोरिया सीधा हवाई उडानका लागि सकारात्मक तदारुकता देखाउन राजदूतमार्फत कोरिया सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राजदूत तइयोङले कोरियाको रोजगार क्षेत्रमा नेपाली कामदारको उल्लेख्य उपस्थिति रहेको बताउँदै नेपालीहरु ‘शिष्ट, मेहनती र अनशासित’ रहेको टिप्पणी गर्नुभयो । उहाँले नेपाल र कोरियाको कुटनीतिक सम्बन्ध स्थापना भएको स्वर्ण जयन्तीको अवसरमा आफ्नो मुलुकले विशेष कार्यक्रम गर्ने योजना बनाएको बताउनुभयो ।

कोरियाको संसदमा कोरिया नेपाल मैत्री समूह गठन भएको जानकारी दिँदै राजदूत राजदूत तइयोङले नेपालको संघीय संसदले पनि छिट्टै मैत्री समूह गठन गर्ने विश्वास व्यक्त गर्नुभयो।

कोरियाबाट फर्केका नेपालीहरुले नेपालमा कृषि लगायतका उत्पादनशील क्षेत्रमा लगानी गरेको बताउँदै उहाँले घर र गाडी किनेर खर्च गर्ने प्रवृत्ति निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो।

नेपाल विश्वकै दोस्रो ठूलो जनस्रोतको देश भएको बताउँदै उहाँले जलविद्युत् लगायतका क्षेत्रमा आफ्नो मुलुक लगानी गर्न इच्छुक रहेको जानकारी दिनुभयो ।