अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरमा यात्रुवाहक बस दुर्घटना : एक जनाको मृत्यु, १६ जना घाइते (नामावलीसहित)

उदयपुरमा यात्रुवाहक बस दुर्घटना : एक जनाको मृत्यु, १६ जना घाइते (नामावलीसहित)


उदयपुर-काठमाडौँबाट धरानतर्फ गइरहेको यात्रुवाहक बस उदयपुरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

प्रहरीका अनुसार बा.प्र.०१–००६ ख ८५२२ नम्बरको बस मदन भण्डारी लोकमार्गअन्तर्गत त्रियुगा नगरपालिका–७, सुर्खेमा अनियन्त्रित भई सडकको छेउमा पल्टिँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख राजन चापागाईँका अनुसार दुर्घटनामा चौदण्डीगढी नगरपालिका–१, वसाहा निवासी १८ वर्षीय सोनु बस्यालको मृत्यु भएको हो। बसमा ३५ जना सवार रहेकोमा १६ जना घाइते भएका छन्।

घाइतेमध्ये बसका सहचालक धनबहादुर जोगीको अवस्था मध्यम रहेकाले थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ। अन्य घाइतेको अवस्था सामान्यदेखि मध्यम रहेको छ।

दुर्घटनामा घाइते हुनेमा खोटाङकी जिना राई, संखुवासभाकी छिजी शेर्पा र उनका श्रीमान् निङमा शेर्पा, सुनसरीकी माया भुजेल र उनका नौ वर्षीय छोरा सक्षम भुजेल, पाँचथरका वीरेन्द्र थाम्सुहाङ, उदयपुरकी विमला नेपाली, खोटाङकी कमला बस्याल, संखुवासभाकी पवित्रा कटवाल, काठमाडौँकी लुना कार्की र उनका नौ वर्षीय छोरा आगमन, खोटाङकी ७० वर्षीया पदमकला राई, मोरङकी भूमिका कार्की तथा धनकुटाकी मन्दिरा तामाङ रहेका छन्।

प्रहरीका अनुसार दुर्घटनामा संलग्न बसका चालक ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–१० निवासी करिब ३० वर्षीय सुमन खत्रीलाई नियन्त्रणमा लिइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यी हुन् घाइते
१.    जिल्ला खोटाङ् हलेसी तुवाचुङ न.पा.वडा नं.९ बस्ने वर्ष अं.४५ की जिना राई, अवस्था मध्यम  
२.    जिल्ला संखुवासभा गोठखोला गा.पा. वडा नं. ४ बस्ने वर्ष अ.३९ की छिजी शेर्पा, अवस्था सामान्य 
३.    ऐ.ऐ. बस्ने वर्ष अ. ४० को निजको श्रीमान निङमा शेर्पा, अबस्था सामान्य  
४.    जिल्ला सुनसरी भोक्रा नर्सिङ न.पा. वडा नं. ४ बस्ने वर्ष अ. ४० की माया भुजेल, अवस्था सामान्य 
५.    ऐ.ऐ. बस्ने निजको छोरा वर्ष अं. ९ को  सक्षम भुजेल, अवस्था सामान्य।
६.    जिल्ला पाँचथर फालेलुङ गा.पा. वडा नं. ३ बस्ने वर्ष अ.  ३६ को  बिरेन्द्र थाम्सुहाङ, अवस्था सामान्य।
७.    जिल्ला ओखल्ढुङ्गा लिखु गा.पा.वडा नं. ३  बस्ने बर्ष अ. ३२ धन बहादुर जोगी, अबस्था मध्यम रहेकोले धरान रिफर भएको । 
८.    जिल्ला उदयपुर चौदण्डीगढी न.पा. वडा नं. १ बस्ने बर्ष अ. २७ की  बिमला नेपाली, अबस्था  सामान्य, 
९.    जिल्ला खोटाङ चिसापानि गा.पा. वडा नं ३ बस्ने बर्ष अं. २३ की कमला बस्याल, अवस्था मध्यम।
१०.    जिल्ला सङ्खुवासभा धर्मदेबि न.पा.  वडा नं. ८ बस्ने वर्ष अ. २२ की पबित्रा कटवाल, अवस्था सामान्य 
११.    जिल्ला काठमाण्डौ शंखरापुर न.पा. वडा नं.९ साखु बस्ने बर्ष अं. ३५ की लुना कार्की अवस्था सामान्य 
१२.    ऐ.ऐ. बस्ने निजको छोरा वर्ष अ. ९ को आगमन अवस्था सामान्य।
१३.    जिल्ला खोटाङ दिक्तेल रुपाकोट मझुवागढी  न.पा.वडा नं.२ बस्ने बर्ष अं. ७० की  पदम कला राई, अवस्था सामान्य ।
१४.    जिल्ला मोरङ बेलबारी न.पा. वडा  ६ बस्ने वर्ष अं. २१ की भुमिका कार्की, अबस्था सामान्य।
१५.    जिल्ला धनकुटा पाख्रिबास गा.पा. वडा नं. ५ बस्ने ३५ की मन्दिरा तामाङ, अबस्था सामान्य रहेको।