काठमाडौँ-सुरक्षाको कारण देखाउँदै काठमाडौँ उपत्यकाका हलले भारतीय चलचित्र ‘आदिपुरुष’ को बिहानी प्रदर्शन रोकेका छन् । चलचित्र संघले विकसित परिस्थिति हेरेर मात्र चलचित्र प्रदर्शन गर्न निर्देशन दिएको छ ।
चलचित्रको टिकट हिजो राति नै सोल्डआउट भइसकेको थियो । बिहानी शोमा बिक्री भएको टिकट अर्को शोमा मिलाउने वा फिर्ता गर्ने हल सञ्चालकले जनाएका छन् । क्यूएफएक्सले यस विषयमा सरकारी निकायको स्पष्टीकरणको पर्खाइमा रहेको भन्दै अर्को सूचना नआएसम्म ‘आदिपुरुष’ प्रदर्शन नगर्ने जनाएको छ ।
“हाम्रा दर्शकको सुरक्षालाई ध्यानमा राख्दै हामी अर्को सूचना नआएसम्म क्यूएफएक्स सिनेमाघरहरूमा चलचित्र आदिपुरुष रिलिज गर्न असमर्थ छौं,” क्यूएफएक्सले सूचना जारी गर्दै भनेको छ, “यस विषयमा सरकारी निकायबाट स्पष्टीकरणको पर्खाइमा छौं । मुद्दाको समाधान हुनेबित्तिकै सूचना जारी गर्नेछौं ।”
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादमा आपत्ति जनाउँदै नेपाली सेन्सर बोर्डले फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको थियो । उक्त संवाद बीप गरिएपछि प्रदर्शनको अनुमति दिइएको छ ।






प्रतिक्रिया