अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीन दलका शीर्ष नेताको बैठक सकियो, प्रधानमन्त्रीले स्पष्टीकरण दिने

तीन दलका शीर्ष नेताको बैठक सकियो, प्रधानमन्त्रीले स्पष्टीकरण दिने


काठमाडौं-प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सकिएको छ। शीर्ष नेताहरुको बैठकपछि बुधबारदेखि जारी प्रतिनिधिसभाको अवरोध आजदेखि हट्ने भएको छ । 

 आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल कमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गरेपछि संसद् अवरोध खुल्ने भएको हो।

कांग्रेस संसदीय दलका प्रमुख रमेश लेखकले तीन नेताको छलफलपछि संसद्को गतिरोध अन्त्य भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘आज तीन बजे बैठक बस्छ । प्रधानमन्त्रीजीले आफ्नो धारणा राख्नु हुन्छ ।’

प्रधानमन्त्रीको राजीनामा माग गर्दै एमालेले बुधबारबाट संसद् अवरुद्ध गर्दै आएको थियो । प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले राजीनामा माग गरेको थियो ।

सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीले प्रमुख दलका शीर्ष नेतासँग सम्वाद गर्न आज बिहान सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले आग्रह गर्नुभएको थियो । 

सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुनुहुन्थ्यो । 

यसअघि प्रधानमन्त्री प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको अपराह्न ३ बजेका लागि सार्नुभएको छ ।