काठमाडौं-सभामुख देवराज घिमिरेसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल-हेलले आज सिंहदरवारमा बिदाइ भेट गर्नुभएको छ।
सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशको सम्बन्ध, नेपाली श्रमिकको रोजगार सुरक्षा, व्यापार, उड्डयन, संसदीय आदान प्रदान लगायतका विषयमा सम्वाद भएको छ। कतारी राजदूत सात वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्कँदै हुनुहुन्छ।
सभामुख घिमिरेले नेपाल र कतारबीच रहेको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा झनै प्रगाढ भएर जाने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले कतारमा ठूलो संख्यामा नेपाली श्रमिकहरु कार्यरत रहेको बताउँदै उनीहरुको रोजगार र सामाजिक सुरक्षामा ध्यान दिन आग्रह गर्नुभयो । ‘हामीबीच राजनीतिक, साँस्कृतिक र जनता जनताबीचको सम्बन्ध रहिआएको छ,’ सभामुखले भन्नुभयो, ‘आगामी दिनमा पनि हाम्रो सम्बन्ध उस्तै प्रगाढ रहनेछ।’
सभामुख घिमिरेले नेपाली अलैंची, चिया, कफी, पानी लगायत कृषिजन्य सामग्रीलाई सोझै कतार निर्यातको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।
राजदूत युसुफ बिन मोहम्मद अल–हेलले नेपाली श्रमिकका लागि कतारले उल्लेख्य व्यवस्था मिलाएको जानकारी दिनुभएको थियो । उहाँले न्यूनतम तलब ४ सय डलर पु¥याएको, कतारमा चार वटा अस्पतालमा श्रमिकको निःशुल्क उपचार व्यवस्था मिलाएको, बैंकिङ प्रणालीबाट तलबको व्यवस्था मिलाएको र तलब नदिने कम्पनीको दर्ता खारेज गर्ने गरेको समेत जानकारी गराउनुभयो ।
राजदूत युसुफले कतारले इटली एयरलाइन्स लगायतका विश्वका धेरै एयरलाइन्स कम्पनीमा लगानी गरेको बताउँदै नेपाल एयरलाइन्ससँग पनि साझेदारी गर्ने इच्छा प्रकट गरेको जानकारी दिनुभयो । ‘हामी सकारात्मक जवाफको प्रतिक्षमा छौं,’ उहाँले भन्नुभयो, ‘यही विषयमा छलफल गर्न नेपालका पर्यटन मन्त्रीलाई निम्तो दिइसकेका छौं ।’





प्रतिक्रिया