अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेसीको गोलमा इन्टर मियामीको जित 

मेसीको गोलमा इन्टर मियामीको जित 


काठमाडौँ-कप्तान लियोनल मेसीले दुई गोल गरेपछि अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीले लिग्स कपको दोस्रो खेलमा एटलान्टा युनाइटेडविरुद्ध ४-० को फराकिलो जित निकालेको छ ।

बुधबार घरेलु मैदान डीआरभी पीएनके रंगशालामा सम्पन्न खेलमा मियामीलाई जित दिलाउन मेसीले दुई गोल गर्दा रोबर्ट टेलरले पनि दुई गोल गरे ।

खेलको आठौँ मिनेटमा मेसीले गोल गर्दै मियामीलाई अग्रतामा राखेका थिए । २२औँ मिनेटमा मेसीको गोलमै मियामीले अग्रता दोब्बर पार्‍यो ।

४४औँ मिनेटमा रोबर्ट टेलरले गोल गरेपछि मियामीले पहिलो हाफमै ३-० को सहज अग्रता बनाएको थियो । यस्तै, ५३औँ मिनेटमा टेलरले नै गरेको गोलबाट इन्टर मियामीले अग्रतालाई ४-० मा पुर्‍याएको थियो ।

प्रतियोगिताको समूह ‘जे’मा रहेको मियामीले यसअघि पहिलो खेलमा क्रुज एजुलविरुद्ध २-१ को जित निकालेको थियो । उक्त खेलमा निर्णायक गोल गरेका मेसीले इन्जुरी समयमा प्राप्त फ्रिकिकलाई पोस्टको दिशा दिँदै मियामीको जित निश्चित गरेका थिए ।

दुई खेलमध्ये दुवैमा जित निकालेको मियामी ६ अंकसहित समूहको शीर्ष स्थानमा छ । यो जितसँगै मियामी प्रतियोगिताको राउन्ड अफ ३२ मा पुग्ने पहिलो टिमसमेत बनेको छ ।

समूह ‘जे’को दोस्रो स्थानको एजुल र तेस्रो स्थानको एटलान्टाले समान एक खेल खेले पनि अंक जोड्न सकेका छैनन् ।