अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्माणाधीन संसद् भवनको भौतिक प्रगति सन्तोषजनक भएन: सभामुख घिमिरे

निर्माणाधीन संसद् भवनको भौतिक प्रगति सन्तोषजनक भएन: सभामुख घिमिरे


काठमाडौं-सभामुख देवराज घिमिरेले निर्माणाधीन संसद् भवनको भौतिक प्रगति सन्तोषजनक नरहेको बताउनुभएको छ। 

बुधवार सम्बन्धित सरोकारवालासँग निर्माणाधीन संसद् भवनको भौतिक प्रगतिको विवरण लिँदै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो।

उहाँले आफूले केही महिना अघि लिएको विवरणमा भौतिक प्रगति बढी र आर्थिक प्रगति कम रहेको पाएको तर अहिले आर्थिक र भौतिक प्रगति बराबर भए पनि भौतिक प्रगति उल्लेख्य हुन नसकेको बताउनु भयो।

सभामुख घिमिरेले अहिले निर्माणाधीन संसद् भवनको भौतिक प्रगति ६६ प्रतिशत र आर्थिक प्रगति ६३ प्रतिशत रहेको बताउनु भयो। उहाँले निर्माणको भुक्तानी बढ्दै जाँदा भौतिक प्रगति भने राम्रो नभएको जिकिर गर्नुभयो। अहिले सरकारले निर्माण भुक्तानी दिन गाह्रो भएको भन्दै उहाँले ठेकेदारहरूले नापेर निर्माणका काम गरिरहेको बताउनु भयो। उहाँले निर्माणाधीन भवनका लागि भने भुक्तानी दिन कठिनाइ नरहेको बताउनु भयो। 

उहाँले भन्नुभयो, ‘यो भन्दा अगाडि त्यहाँ भ्रमण गर्दा ६३ प्रतिशत जति भौतिक संरचनाको प्रगति र ५६ प्रतिशत आर्थिक प्रगति भन्ने की खर्च भन्ने त्यो भएको थियो। अहिले मोटामोटी ६६ प्रतिशत भौतिक प्रगति र ६३ प्रतिशत जति आर्थिक प्रगति भन्ने पाइयो। हिजो पैसा खर्च गर्न नसकिएको र अहिले यही आर्थिक वर्षलाई लिँदा ९० प्रतिशत भौतिक प्रगति भएको र ८८ प्रतिशत आर्थिक प्रगति भएको भनेपछि पेमेन्ट बढ्दै गयो, तर भौतिक प्रगति कमजोर देखिएको छ। हिउँदे अधिवेशनको काम यहाँबाट हुन्छ जस्तो लागेन । कामको स्पिड धेरै गएको छैन। अहिले देखेको डरलाग्दो समस्या के हो भने सरकारले पेमेन्ट गर्न गाह्रो छ। त्यो देखेर ठेकेदार पनि काममा नापी नापी गरिरहेका छन् । तर यहाँ त्यो समस्या छैन।’

सभामुख घिमिरेले हिउँदे अधिवेशन निर्माणाधीन संसद् भवनबाट सञ्चालन गर्ने गरी काम गर्न निर्देशन दिए पनि अहिलेसम्मको प्रगतिले हिउँदे अधिवेशन सञ्चालन गर्न नसकिने स्पष्ट रहेको बताउनु भयो।