काठमाडौं-नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले वर्तमान सरकारले सत्ताको आडमा तस्करी जस्तो गम्भीर अपराधमा जोडिएका माओवादी शीर्ष नेतालाई उन्मुक्ति दिन लागेको बताउनुभएको छ।
सरकारको अनुसन्धान गर्ने आधिकारिक निकाय र प्रहरीले उनीहरूलाई सामान्य सोधपुछ गर्ने हिम्मतसम्म नगरेको भन्दै बस्नेतले आलोचना गर्नुभएको छ। उहाँले भन्नुभयो, ‘सामान्य सोधपुछ गर्ने हिम्मतसम्म गर्दैनन् अनुसन्धान गर्ने आधिकारिक निकाय र प्रहरी !’
प्रतिनिधि सभाको कार्यव्यवस्था समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले सदन अवरोध भएकोले जनताका समस्या ओझेल परे भनी गैरजिम्मेवार कुरा उठाएको भन्दै बस्नेतले त्यसको पनि आलोचना गर्नुभएको छ। उहाँले भन्नभयो, ‘के सुन तस्करी र लुट जनताका समस्या होइनन् ? किन यिनीहरू यो विषयलाई अन्यत्र मोड्न खोज्दै छन् ?’
हरेक अपराध र तस्करीमा जोडिने माओवादीले फाइल खोल्यौँ भनेर हल्ला गर्दै आफ्नो पार्टी र सत्ता गठबन्धनसँग जोडिएका नेताहरूको फाइल मिलाउन चाहेको नेता बस्नेतको टिप्पणी छ। ‘माओवादी सांसद भन्छन् एमालेले आफू निकट सुन तस्करलाई उम्काउन उच्च स्तरीय छानबिन आयोग माग्यो, तस्करसँगको हाम्रा नेताहरूको फोटो त संयोग मात्रै हो रे’, बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ।
भुटानी शरणार्थी काण्डमा प्रचण्ड, आरजु र मञ्जु खाँड, बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल, बाबुराम भट्टराई, विजयकुमार गच्छेदार, लीलामणि पौडेल लगायतको संलग्नता रहेको उहाँले दाबी गर्नुभयो । सुन तस्करी प्रकरणमा माओवादी र कांग्रेसका तस्करसँग भोज खाने र फोटो खिच्ने नेताहरूका फोटा नै सार्वजनिक भएको उहाँले टिप्पणी गर्नुभएको छ। त्यस्तै लडाकु शिविरको घोटाला, वाइडवी, सीसीटीभी फुटेज गायब गरेर तस्करसँग मिलेर करका दररेट तलमाथि गरेको प्रकरण इत्यादिमा माओवादी र कांग्रेस नेताको प्रत्यक्ष संलग्नता पुष्टि भएको उहाँले उल्लेख गर्नुभएको छ । ‘कि गृह मन्त्रीज्यू मोहरा बन्दै हुनहुन्छ, कि मुखमा राम राम बगलीमा छुरा बोकेर हिँड्दै हुनुहुन्छ, कि सबै कर्म आफ्नै सेटिङ्ग र प्लानमा गरिरहनु भएको छ ? यसरी उहाँमाथि प्रश्नै प्रश्न सिर्जना खडा भएको छ’, बस्नेतले लेख्नु भएको छ।
स्वयम् प्रधानमन्त्री, गृह मन्त्री, अर्थ मन्त्री र सत्ताधारी उच्च नेतृत्व माथि प्रश्न उठेपछि यी सबै विषयको सत्य र रहस्य पत्ता लगाउन पनि उच्च तहको छानबिन आयोग बन्न आवश्यक रहेको बस्नेतको निचोड छ।






प्रतिक्रिया