काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई क्विन्टल क्विन्टल सुन तस्करी भएको सुन्नु भएको छ कि छैन भन्दै प्रश्न गर्नु भएको छ।
वामपन्थी नेता तुलसीलाल आमात्यको २६ औँ स्मृति दिवसका अवसरमा एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सभापति देउवालाई प्रश्न गर्नु भएको हो।
अध्यक्ष ओलीले सरकार आफै दैनिक क्विन्टलका दरले सुन तस्करीमा लागेको आरोप लगाउनु भयो। उहाँले अहिलेको सरकारले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन नगरेको बताउनु भयो।
उहाँले सुन तस्करीबारे संसद्मा गृहमन्त्रीको जवाफ सुनौँ भन्दा समेत नमानेको बताउनु भयो । उहाँले त्यत्रो सुन ल्याउँदा पनि सबैले देख्ने तर सरकारले नदेख्ने गरेको बताउनु भयो।
अध्यक्ष ओलीले यत्रो तस्करी हुँदा कांग्रेस पार्टी चुइँक्क बोल्न नसकेको बताउनु भयो । उहाँले कांग्रेस सभापति देउवालाई प्रश्न गर्दै भन्नुभयो, ‘म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई भन्न चाहन्छु। देउवाजी तपाईँले क्विन्टल क्विन्टल सुन तस्करी भएको सुन्नु भएको छ कि छैन ? के छ तपाईंको विचार ?’
उहाँले सुन तस्करीको उच्चस्तरीय छानबिन समिति बनाउँ भन्दा सरकारले नमानेको समेत बताउनु भयो । उहाँले भन्नुभयो, ‘किन मान्दैन सरकार? हामी छानबिन गर्दैछौ भन्छ। उहाँहरु आफै मुछिनुभएको छ। त्यो सिग्रेटमा ल्याएको साढे नौ किलो सुन जफत गरेर राखिएको थियो तर गोदामबाटै हरायो भनेर अहिले सुन्छु।’
अध्यक्ष ओलीले राष्ट्रिय हितका लागि काम गर्न एमालेले मिसन २०८४ अभियान चलाएको पनि बताउनु भयो। उहाँले भन्नुभयो, ‘देशलाई माया गर्ने र परिवर्तनकारी शक्तिहरु सानातिना कुरा छोडेर आउनुस् परिवर्तनका लागि एकजुट भएर अघि बढ्नुपर्छ । राष्ट्रिय शक्ति बन्नुपर्छ । एमाले राष्ट्रिय शक्तिको अगुवामा मात्र हुन सक्छ।’




प्रतिक्रिया