काठमाडौं-पत्रकार एवं लेखक बाबुराम विश्वकर्माद्धारा लिखित पुस्तक ‘भूराजनीतिको भार’ विमोचन गरिने भएको छ।
पूर्व प्रधानन्यायधीश कल्याण श्रेष्ठको प्रमुख आतिथ्यमा यही साउन २० गते शनिवारका दिन प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा पुस्तक विमोचन गर्न लागेको लेखक बाबुराम विश्वकर्माले बताउनु भयो। उहाँले पूर्वमन्त्री डा. मिनेन्द्र रिजाल, वरिष्ठ पत्रकार तथा सहप्राध्यापक डा. कुन्दन अर्याल र परराष्ट्र तथा सुरक्षा मामिला विज्ञ डा. इन्द्र अधिकारी प्रमुख वक्ताहरू भएको जानकारी दिनु भयो।
पुस्तकमा छिमेकी शक्ति राष्ट्रको स्वार्थले हाम्रो मुलुक कसरी गिजोलिएको छ भन्ने कुरालाई प्रष्ट्याउन खोजेको लेखक विश्वकर्माले बताउनु भयो। उहाँले भन्नुभयो, ‘पुस्तकमा नेपालमा सत्ता र शक्तिका लागि मात्र राजनीति गरिरहेका पुरातनवादी नेतृत्वको कमजोरीले नेपाल विदेशी स्वार्थको खेलमैदानको भुमरीमा फस्दै गएको यथार्थलाई स्पष्ट पारिएको छ। मुलुकको संविधान, असंलग्न एवं स्वतन्त्र परराष्ट्र नीति, लोकतन्त्रका आधारभूत मूल्य तथा विदेश निति सम्बन्धी संसारका असल अभ्यास नै नेपालको विदेश सम्बन्ध सञ्चालनका मूल आदर्श हुन् र हुनुपर्छ भन्ने कुरालाई यस पुस्तकमा समेटिएको छ।’
लेखक विश्वकर्माले भन्नुभयो, ‘सरकार बदलिए पनि विदेश सम्बन्धका सर्वस्वीकार्य आदर्श र अभ्यास बदलिनुहुन्न। गुटगत र पार्टीगत लाभ हेरेर विदेश सम्बन्ध सञ्चालन गर्नु देशका लागि गम्भीर घात र बेइमानी हो । अन्य कुरा पुस्तकमा स्पष्ट छ।’
‘भूराजनीतिको भार’ विमोचन दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा हुने भएको छ। विमोचन कार्यक्रममा लेखक, बुद्धिजीवी, पत्रकार, राजनीतिज्ञ, सञ्चारकर्मीलगायत सबैलाई आमन्त्रण गरिएको छ।







प्रतिक्रिया