काठमाडौं-प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रिय सभा बैठकमा अवराेध गरेकाे छ।
सुन तस्करी काण्डमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने लगायत माग राख्दै एमालेले बिहीबारकाे राष्ट्रिय सभा बैठक अवरोध गरेको हो ।
आजकाे बैठक सुरु हुनासाथ एमाले सांसद्हरुले उठेर विराेध जनाए । त्यसपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद् भैरव सुन्दर श्रेष्ठलाई बोल्न समय दिनुभयाे ।
सांसद् श्रेष्ठले सुन तस्करी काण्डले नेपाल र नेपालीकाे शिर निहुँरिएकाे बताउनुभयाे । नेपाललाई तस्करकाे देश बनाउन खाेजिएकाे भन्दै उहाँले आफूहरुलाई त्याे स्वीकार्य नहुने चेतावनी दिनुभयाे । सुन तस्करी काण्डमा जाेडिएकाहरुकाे नाम धमाधम बाहिर आउँदा पनि सरकारले पक्राउ गर्न चासाे नदिएकाे भन्दै सांसद् श्रेष्ठले आपत्ति जनाउनुभयाे ।
तथ्यसहितका घटनाहरु बाहिरिँदा पनि सरकारले सत्यतथ्य छानबिन नगरेकाे उहाँले बताउनुभयाे । साे काण्डकाे अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन नगरेसम् सदन चल्न नदिइने बताउँदै नेता श्रेष्ठले भन्नुभयाे, ‘सुन तस्करी प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन नगरेकाले राष्ट्रिय सभाको बैठक चल्न दिँदैनौं ।’ सरकारका हर्कत र तस्करीका श्रृंखलालाई टुलुटुलु हेरेर एमाले नबस्ने चेतावनी पनि उहाँले दिनुभयाे ।
सुन तस्करी काण्डमा सरकार नै मुछिएको भन्दै एमालेले उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेकाे छ । उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने भन्दै एमालेले यसअघि प्रतिनिधि सभा बैठक पनि अवराेध गरेकाे थियाे ।




प्रतिक्रिया