अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज लक्ष्मी पूजा गरिँदै, कुकुर तिहार पनि आजै

आज लक्ष्मी पूजा गरिँदै, कुकुर तिहार पनि आजै


काठमाडौं – तिहारको दोस्रो दिन आइतबार साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदै छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली र भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।

लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ ।

पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतिक मानी पूजा गरी दक्षिणा दिने प्रचलन छ ।

आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

आजै आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदै छ ।

कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् प्रा‍.डा. रामचन्द्र गौतमले जानकारी दिए ।

वैवस्वत मन्वन्तरको कूलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरूको संख्यासमेत बढ्न थालेको छ ।