काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) आगमन कक्षको ब्यागेज क्लेम क्षेत्रमा उपलब्ध गराइएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’को पहलमा सुरु गरिएको यस व्यवस्थाबाट अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुले विमानबाट झारिएको आफ्नो सामान ब्यागेज बेल्टसम्म आइपुग्ने प्रक्रियालाई प्रत्यक्ष हेर्न सक्नेछन्।
नयाँ व्यवस्थाले यात्रुलाई आफ्नो सामानको अवस्थाबारे जानकारी लिन सहज बनाउनुका साथै ब्यागेज प्राप्त गर्न लाग्ने समयको अनुमान गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसअघि विमानबाट झारिएको सामान ब्यागेज क्लेम क्षेत्रमा आइपुग्न लाग्ने समयबारे यात्रुले प्रत्यक्ष जानकारी पाउने व्यवस्था थिएन। सामानको प्रतीक्षामा यात्रुहरू अन्योलमा पर्ने तथा ब्यागेज व्यवस्थापन प्रक्रियाबारे पर्याप्त सूचना नहुँदा असहजता हुने गरेको थियो।
अब ब्यागेज ड्रप क्षेत्रमा भइरहेका गतिविधि आगमन कक्षबाटै प्रत्यक्ष हेर्न सकिने भएपछि यात्रुको प्रतीक्षा थप सहज र व्यवस्थित हुने विश्वास गरिएको छ।
पछिल्लो समय मन्त्री पौडेलले विमानस्थलको सेवा सुधार, प्रविधिको उपयोग र यात्रु सुविधालाई प्राथमिकतामा राख्दै विभिन्न पहल गरिरहेका छन्। नयाँ व्यवस्थालाई विमानस्थलको सेवा प्रवाहमा पारदर्शिता बढाउने, यात्रु सेवाको गुणस्तर अभिवृद्धि गर्ने र आधुनिक प्रविधिको प्रयोगमार्फत विमानस्थललाई थप यात्रुमैत्री बनाउने प्रयासका रूपमा हेरिएको छ।



प्रतिक्रिया