काठमाडौँ-प्रतिनिधिसभाको मंगलबारको बैठक सञ्चालन हुने भएको छ। सुन तस्करीका विषयमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन नहुँदासम्म संसद् सञ्चालन हुन नदिने अडानसहित अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंगलबार भने बैठक सञ्चालन गर्न दिने जनाएको छ।
बैठकमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणका विषयमा सम्बोधन गर्ने भएका छन् । यसअघि छानबिन समिति नबनेसम्म संसद् सञ्चालन गर्न नदिने अडानमा रहेको एमाले मंगलबार गृहमन्त्रीको जवाफ सुन्न तयार भएको हो।
संसदमा अवरोध खुलाउने विषयमा मंगलबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमा छलफल गर्नु भएको थियो । छलफलपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले मंगलबार ३ बजेका लागि तोकिएको प्रतिनिधिसभाको बैठक सञ्चालन गर्न दिने बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले पुरानै मागहरू राख्यौं । तर कुनै सहमति भएन, प्रधानमन्त्रीजीले उच्चस्तरीय छानबिन समिति गठन गर्न सहमत हुनुभएन। तर धेरै दिनसम्म संसद् अवरुद्ध गर्ने कुराले भ्रम फैलिएको छ । सरकार र सत्तापक्षले प्रमुख प्रतिपक्षीलाई गलाउने, थकाउने, निचोड केही नदिएर जनताका बीचमा भ्रम फैलाउने प्रयास गरिरहेको छ । त्यसैले आजको बैठक चल्छ । बैठकमा गृहमन्त्रीजीले सम्बोधन गर्नुहुन्छ । सांसदहरूले आफ्नो कुरा राख्नुहुन्छ । त्यसपछिको अवस्था हेरेर हामी अघि बढ्छौं ।’






प्रतिक्रिया