अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीन दलका शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन

तीन दलका शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन


काठमाडौं-शीर्ष तीन दलका नेताहरूबीचको छलफल बिना निष्कर्ष टुंगिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनीहरूबीच सदन खुलाउने विषयमा सहमति हुन नसकेको हो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल बिना निष्कर्ष टुंगिएको एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिनु भयो। उहाँले सरकारले सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठन गर्न सरकार तयार नभएको बताउनु भयो ।  

सचेतक बर्तौलाले भन्नुभयो, ‘सरकारको तहमा छलफल गरिरहेका छौं। उहाँहरू समिति बनाउन तयार हुनुहुन्न। सिआईबीले गरेको अनुसन्धानमा हाम्रो समर्थन छ। तर, संरचनागत र कानुनी विषयमा कमजोरी छ कि भनेर पो समिति बनाउँ भनेको त !’

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। उहाँले आज पनि आफूहरूले सदनमा आफ्ना विषय राख्ने र सरकारले समिति गठन नगरेसम्म अवरोध कायमै राख्ने बताउनु भयो ।

एक क्विन्टल सुन प्रकरणमा सत्ता पक्षका नेता र मन्त्रीहरू नै जोडिएकाले छानबिनका लागि समिति गठन गर्न माग गर्दै एमालेले सदन चल्न दिएको छैन। सदन खुलाउने विषयमा प्रधानमन्त्री प्रचण्डले निरन्तर शीर्ष तहमा छलफल गरिरहेका छन्।