काठमाडौँ-बिहीबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीद्वारा पक्राउ परेका कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य सुनील शर्मामाथि फर्जी कागजात बनाएको अभियोग लागेको छ।
मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शर्मालाई प्लस टुको शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा सीआईबीले बिहीबार पक्राउ गरेको हो।
‘उहाँ (सुनिल शर्मा) लाई शैक्षिक प्रमाणपत्र किर्ते गरेको पुरानै मुद्दामा पक्राउ गरिएको हो’, नेपाल प्रहरीको उच्च स्रोतले भन्यो, ‘प्लस टु उत्तीर्ण गर्नका लागि नम्बर नपुग्दा उहाँ आफैंले थपेको पाइएको छ।’
शर्मालाई पक्राउ पछि अहिले सीआईबीमा ल्याइँदैछ । ब्युरोले मेडिकल क्षेत्रसँग सम्बन्धित कीर्ते कागजात बनाएकोबारे उनीमाथि अनुसन्धान भइरहेको जनाएको छ ।
मोरङ क्षेत्र नम्बर ३ बाट २०७९ मंसिर ४ को निर्वाचनमा विजयी शर्मा कांग्रेसमा नेता डा. शेखर कोइरालानिकट मानिन्छन्। उहाँ मेडिकल कलेज सञ्चालक पनि हुन् ।
उहाँले गत साउन ३ गते त्रिभुवन विमानस्थल परिसरबाट बरामद १०० केजी सुन प्रकरणमा अर्थमन्त्री डा. प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गर्नु भएको थियो ।




प्रतिक्रिया