अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदमा प्रमुख प्रतिपक्षको आवाज दबाउन सत्तापक्षले विरोध गर्‍यो: रघुजी पन्त

संसदमा प्रमुख प्रतिपक्षको आवाज दबाउन सत्तापक्षले विरोध गर्‍यो: रघुजी पन्त


काठमाडौं-प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षको आवाज दबाउन सत्ता पक्षले नै संसदमा विरोध गरेको बताउनु भएको छ। 

शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले संसदमा आज प्रमुख प्रतिपक्ष बोल्दै गर्दा सत्ता पक्षले उभिएर बिरोध जनाएको घटना संसदमा पहिलो पटक देखेको बताउनु भयो। 

‘संसदमा बिरलै देखिने दृश्य आज देखियो। सामान्यतया संसद सत्ता पक्षले चलाउन चाहन्छ, प्रतिपक्षले आफ्ना कुरा राख्न चाहन्छ,’ उहाँले भन्नुभयो, ‘संसद सुरु भएर मुख्य प्रतिपक्ष दलको सांसद माननीय ज्वाला साहलाई सभामुखले बोल्न समय दिनासाथ सत्ता पक्षका सबै सांसदहरु उठेर उहाँलाई बोलेको कुरा नसुनिने गरी होहल्ला गरेर बोल्नै नदिने अवस्था भयो।’

उहाँले सत्ता पक्षका सांसदले प्रमुख प्रतिपक्षलाई बोल्न नदिने कुरा संसदीय मान्यता विपरित भएको जिकिर गर्नु भयो।

‘यो संसदीय मान्यताअनुसार भएन। आज संसद चल्नै नदिने कुरामा यो भन्दा अघि पनि र आज पनि त्यो अवस्था देखियो। यो भन्दा अघि मैले यो दृश्य संसदमा देखेको छैन,’ उहँले भन्नुभयो, ‘यो अत्यन्त दुःखलाग्दो र खेदजनक कुरा हो। लम्पी स्किन, बाढी पहिरोको समस्या थियो, संसदमा ध्यानाकर्षण गराउन चाहन्थ्यौँ। तर सत्ता पक्षले नै विरोध गरेको छ।’

सांसद पन्तले सिआईबी र राजश्व अनुसन्धानलाई असर नपर्ने गरी सुन तस्करी प्रकरणको अनुसन्धान गर्न संसदीय छानबिन समिति बनाउन सरकारलाई केले रोकेको हो ? भन्दै प्रश्न गर्नु भयो।

उहाँले भन्नुभयो, ‘राजस्वले छानबिन गरोस्, ठीक, सिआईबीले छानबिन गरोस् तर त्यसलाई असर नपर्ने गरी सुन काण्डको छानबिन गर्न उच्चस्तरीय छानबिनस समिति बनाउन राज्यलाई कसले रोकेको छ ? सुन तस्करको नायिकेसम्म पुग्न सरकारलाई कसले रोक्यो।’