झापा-युवा लेखक निरोज कट्टेलले ‘२०२८’ झापा विद्रोहको राजनीतिक इतिहासलाई समेटेर पुस्तक प्रकाशित गर्नु भएको छ।
यही भदौ २ गते उक्त पुस्तक लोकार्पण हुँदैछ। ‘यो ऐतिहासिक अनुसन्धानमूलक कृति हो,’ लेखक कट्टेलले भन्नुभयो, ‘यसले झापा विद्रोहका पात्रहरुको अप्रकाशित अन्तरकथाहरु उजागर गर्ने प्रयास गरेको छ।’
वि.सं. २०२८ सालमा झापामा भएको सशस्त्र कम्युनिस्ट विद्रोहलाई तत्कालीन पञ्चायती सरकारले दमन गरेको थियो । विद्रोह क्रममा राज्यपक्ष र विद्रोही पक्षबाट श्रृंखलाबद्ध हत्या र हिंसा समेत भएका थिए ।
नयाँ कृति ‘२०२८’ले दुबै पक्षका घटना, पात्र र प्रवृत्तिहरुको खोज गर्दै पाठकलाई ऐतिहासिक झापा विद्रोहको बारेमा महत्वपूर्ण जानकारी दिने विश्वास गरिएको छ।
कृतिमा कथामार्फत विद्रोहका पात्रहरु पाठकसँग बोल्नेछन् । वि.सं. २०२१ को भूमिसुधारपछिको परिस्थिति, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको तरंग, जमिन्दार र किसानबीचको द्वन्द्व, नक्सलबादी आन्दोलनको नेपालमा कनेक्सन आदिका बारेमा खोजमूलक विवरण कृतिमा पढ्न पाइने भएको छ।
कृति ३०४ पृष्ठको रहेको छ । बेला पब्लिकेसनले पुस्तक छापेको छ भने दोबिला बुक्स काठमाडौंले भदौ २ गतेदेखि नै देशभर यसको विक्री वितरणको व्यवस्था मिलाइएको छ। झापाको अंकित, प्रगति, इशा, सम्पूर्ण लगायत देशभरका पुस्तक पसलमा भदौ २ गतेबाटै पुस्तक विक्री सुरु हुने दोबिला बुक्सले जनाएको छ।






प्रतिक्रिया