अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उर्लाबारी सिमसार र पर्यटन बिकास

उर्लाबारी सिमसार र पर्यटन बिकास



घनश्याम भण्डारी
मोरङको उर्लाबारी नगरपालिका सिमसारको शहरका रुपमा परिचित हुँदै गएको छ । उर्लाबारीमा बेतिनी, लामपाते, बुढाठाकुर, बाँसेचौरी, प्रगतिशील ,मनोहर लगायतका सिमसार क्षेत्रहरु रहेका छन् । सिमसारयुक्त पर्यटकीय नगरीका रुपमा परिभाषित गर्दै उर्लाबारी नगरपालिकाले पनि सिमसार क्षेत्रको प्रवद्र्धनमा सहयोग गर्दै आएको छ । उर्लाबारी–२ मा रहेको बेतिनी सीमसार आन्तरिक पर्यटकीय क्षेत्रको रुपमा परिणत भएको छ भने अन्य सिमसारहरुको संरक्षण र प्रवद्र्धन हुन सकेको छैन ।

१. बेतिनी सिमसार

पूर्वपश्चिम राजमार्गमा पर्ने उर्लाबारी–३ मंगलबारे चौकबाट करिब २ किलोमिटर उत्तरमा चारकोसे जंगलभित्र रहेको छ, बेतिनी सिमसार । बेतिनी सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गर्दै आएको सिमसारमा उर्लाबारी नगरपालिका, प्रदेश सरकार र संघीय सरकारबाट सहयोग प्राप्त हुँदै आएको छ ।
बेतिनी सिमसार आन्तरिक पर्यटकका अलवा वनभोजका लागि पनि उपयुक्त स्थल बन्दै गएको छ । वनभोजका लागि टहरा निर्माण, बिजुली तथा खानेपानी लगायतको ब्यवस्थापन गरिएको छ । सिमसारको पुर्वतर्फ सोल्टी खोलामा लगाइएको झोलुङ्गे पुलपनी टिकटक बनाउने र फोटो खिच्नेहरुको लागि आकर्षक रहेको छ ।
उर्लाबारी–२ मा रहेको सिमसारमा दैनिक सयौं आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् । बालउद्यान, कृतिम पाटे बाघ, बोटिङ, कृतिम पोखरी यहाँका आकर्षण हुन् ।
दैनिक एक हजार हाराहारीमा आन्तरिक पर्यटक सिमसार क्षेत्रमा पुग्ने गरेका छन् । बिदाको समयमा सिमसार घुम्न आउनेको संख्या अत्यधिक हुन्छ ।


सिमसार ५८ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सिमसार क्षेत्रमा तारजाली, पक्की शौचालय, चौतारा, सडक ग्राभेललगायत कार्य गरिएको छ । बन्यजन्तु को संरक्षण र आन्तरिक आय वृद्धि गर्न प्रदेश सरकारको सहयोगमा बन्यजन्तु उद्घार केन्द्र को निर्माण अन्तिम चरणमा पुगेको बेतिनी सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष भिम राई बताउछ्न ।
सिमसार क्षेत्रमा पानीबेत, सर्पगन्धा, हर्रो, अमला, लहरे, टिम्बुर, सुनाखरी जस्ता वनस्पति तथा मैना, लुइँचे, धनेश, मयूर, बट्टाईं, हाँडिफोर, बकुल्लालगायत चराचुरुङ्गी पाइन्छ । यस्तै आसपासमा हरिण, चितुवा, बँदेल, दुम्सी, सालक, वन बिरालो, गोहोरो, अजिङ्गरलगायत जीवजन्तु पाईएको समुहका कोषाध्यक्ष अर्जुन बास्तोलाले बताए ।

२. बाँसेचौरी सिमसार

उर्लाबारी–२ मै रहेको बाँसेचौरी सिमसार तथा बनभोज क्षेत्र पनि अर्को आकर्षक गन्तव्य को रूपमा रहेको छ ।
सुनझोडा सामुदायिक वन समूहको क्षेत्रभित्र एकान्त वातावरणमा रहेको यस क्षेत्रमा वनभोजका लागि मानिसहरु पुग्ने गरेका छन् । ठूलो चौर र घाँसे मैदानले त्यहाँ पुग्नेको ध्यान खिच्ने गरेको छ । उर्लाबारी–३ को नयाँ मंगलबारेबाट करिब (३ किलोमिटर उत्तर पश्चिम् क्षेत्रमा रहेको बासेचौरी सिमसारलाई पनि व्यवस्थित गर्न आवश्यक प्रक्रिया सुरु गरिएको र बिजुली ,खानेपानी ,बनभोज का लागि टहरा निर्माण गरिएको छ । यो सिमसारमा छिमेकी पालिका पथरीशनिश्चरे को ट्राफिक कार्यलय पुर्व बाट करिब २ किलोमिटरको दुरिमा पुग्न सकिन्छ । यश सिमसारक्षेत्रमा दुर्लभ जडिबुटी पाईनुका साथै एवं बन्यजन्तुको बासरहेको सुनझोडा सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष बलबहादुर धिमाल बताउछन् ।

३. बुढाठाकुर ग्रामथान एवं सिमसार

उर्लाबारी–२ कै अर्को महत्वपूर्ण स्थल हो, बुढाठाकुर सिमसार क्षेत्र । पूर्वी नेपालमा बसोबास गर्दै आएका अल्पसंख्यक धिमाल समूदायको ऐतिहासिक क्षेत्रको रुपमा बुढाठाकुरलाई मान्ने गरिएको छ । प्रत्येक वर्षको जेठ २३ गते यस क्षेत्रमा धिमाल समुदायको भव्य पुजासहित श्रीजात जात्री मेलाको आयोजना गरिन्छ ।
सिमसार क्षेत्रमा रहेको प्राकृतिक रूपमा उम्रेको पानी ९भुल्के० ले समेत सबैलाई आकर्षित गर्ने गरेको छ ।
उर्लाबारी–३ को नयाँ मंगलबारेबाट करिब ५ किलोमिटर उत्तर गएपछि सुनझोडा मावि हुँदै खोला पश्चिममा यो सिमसार रहेको छ ।
सुनझोडा सामुदायिक वनको चार हेक्टर क्षेत्रफलमा फैलिएको बुढाठाकुर सिमसारको विकासको लागि प्रचार प्रसार र ब्यवस्थापन गरेको खण्डमा उत्कृष्ट पर्यटकीय स्थल बन्नसक्ने देखिन्छ ।

४. लामपाते सिमसार

उर्लाबारी–२ मै रहेको लामपाते सिमसार पनि पर्यटकीय क्षेत्र बन्नसक्ने प्रचुर सम्भावना छ । उर्लाबारी–३ नयाँ मंगलबारेबाट ३ किलोमिटर उत्तर शान्ति आधारभूत विद्यालयको पश्चिम हुँदै यस सिमसार क्षेत्रमा पुग्न सकिन्छ ।
सालबारी सामुदायिक वनको क्षेत्रभित्र रहेको सिमसार क्षेत्रमा कृतिम पोखरी र केही टहरा निर्माण गरिएको छ । तर, सरोकारवाला निकायको ध्यान नपुग्दा उचित विकास हुन सकेको छैन ।
करिब ५ हेक्टर क्षेत्रफलमा फैलिएको यो सिमसारमा बोटिङ तथा पर्यटकीय स्थलका रुपमा परिचित गराउन सकिने आधारहरु रहेका छन् । यो सिमसार क्षेत्रमा विभिन्न प्रजातिका जंगली जनावार, विभिन्न प्रकारका वनस्पतिहरु यहाँ पाइन्छन् । सामुदायिक बन कार्यालय परिसरमा रहेकोे बन्यजन्तु उद्धार केन्द्रमा विशाल अजिङ्गर सहित का जिवजन्तु पनि आकर्षकको रूपमा रहेका छ्न ।

५. प्रगतिशील सामुदायिक बन तथा सिमसार

यस्तै उर्लाबारी -१ लक्ष्मिझारमा अवस्थित प्रगतिशील सामुदायिक बन क्षेत्रमा रहेकोे अर्को सिमसारहो उर्लाबारीको । किसान चौक( टाँडी सडकबाट ३ किलोमीटर उत्तर गए पश्चात् लक्ष्मिझार चौक बाट सोल्टीखोला पश्चिममा रहेको यो सिमसार पनि उर्लाबारीको खोज अनुसन्धान तथा घुमफिर को अर्को आकर्षक गन्तव्य बन्न सक्छ । ब्यवस्थापन र निर्माणको पहिलो चरणमा रहेको सिमसारमा बनभोज स्थल र फुलबारी ,बिजुली ,पानी को ब्यवस्था गरिए पनि सोल्टी खोलामा पुल बनाउन सके आगन्तुक को रोजाइ मा पर्ने स्थानीय रमेश श्रेष्ठ बताउछन् ।

६. मनोहर सिमसार तथा बाल उद्यान

उर्लाबारी १ कै कान्छीचौक मा अवस्थित अर्को सिमसार हो मनोहर सिमसार तथा बाल उद्घयान ।किसान चौक टाँडी सडक सगै रहेको यो सिमसार पनि सम्बन्धित निकाएको ध्यान नपुगेको क्षेत्रको रुपमा रहेकोे छ । सामुदायिक बन परिसरमा बाल उद्घयानको निर्माण गरिए पनि ब्यवस्थापन को कमजोरी ले राम्ररी सञ्चालन हुन सकेको छैन । यस्तै गरि उर्लाबारी (१ मै रहेका नुनकुप लगाएतका सिमसारको संरक्षण र प्रचार प्रसार हुने हो भने आन्तरिक एवं बाह्य पर्यटको आकर्षण हुने कुरामा दुईमत नहोला ।
आधा दर्जन सिमसार को उचित संरक्षण र दुर्लभ जडिबुटी एवं बन्यजन्तुको संरक्षण गरि एकीकृत योजना सहित कार्यक्रम ल्याउने हो भने रोजगार र वातावरण जोगाउन महत्त्वपूर्ण कदम हुन सक्छ ।

Skip This