काठमाडौँ-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकले गालेको छ। गालेपछिको सुनको कुल वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको राष्ट्र बैंक स्रोतले बतायो।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन जोखिएको थियो । आज बिहान साढे १० बजेबाट सुन गालिएको थियो । छुट्याइएको सुन गालिएपछिको यकिन परिमाण निकाल्नको लागि जोखिएको टक्सर महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिनु भयो ।
टक्सार महाशाखाका निर्देशक आचार्यका अनुसार सोमबार ब्रेक प्याडबाट अलग गर्दा सुनको तौल ६० किलो ७८९ ग्राम भएको थियो । त्यसपछि बाल्दा परिमाण केही ग्राम घटेर वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको हो।
सोमबारदेखि राष्ट्र बैंकले सुन ब्रेक प्याडबाट अलग गर्ने र गाल्ने प्रक्रिया सुरु गरेको थियो। असार ३० मा हङकङकबाट क्याथे प्यासिफिकको उडानमार्फत आएको सुन ‘रेडी ट्रेड प्रालि’ले मगाएको खुलेको थियो । १६० वटा ‘ब्रेक प्याड’ मा छिपाएर सुन काठमाडौँ ल्याइएको थियो । सुन सहितको ब्रेक प्याडको तौल १५५ किलो थियो ।






प्रतिक्रिया