अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतको ७७औँ स्वतन्त्रता दिवस मनाइयो

भारतको ७७औँ स्वतन्त्रता दिवस मनाइयो


काठमाडौँ-भारतीय राजदूतावासले आज ७७औँ स्वतन्त्रता दिवस मनाएको छ। यो उत्सव भारतको स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक क्षणलाई स्मरण गर्न भारत सरकारले सन् २०२१ मार्चमा शुभारम्भ गरेको ‘आजादी का अमृत महोत्सव’कै हिस्साका रुपमा रहेको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी समारोह शुभारम्भ गर्नुभयो। राजदूत श्रीवास्तवले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यलाई स्वतन्त्रता दिवसको शुभकामना पनि दिनुभयो।

तत्पश्चात कार्यक्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गर्नुभएको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो। राष्ट्रपति मुर्मूले आफ्नो सन्देशमा भारतको स्वतन्त्रता प्राप्तिका लागि स्वतन्त्रता सेनानीहरुले गरेका बलिदानको स्मरण गर्नुभयो र देशले विभिन्न क्षेत्रमा हासिल गरेका उपलब्धिहरुबारे चर्चा गर्नुभयो। राष्ट्रपतिले भारतको गाथाप्रति भारतीय डायस्पोरामा आफूले नयाँ विश्वास देखेको उल्लेख गर्नुभयो।

साथै उहाँले विकास एवम् मानवीय लक्ष्यलाई विश्वभर प्रवद्र्धन गर्न भारतले महत्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गर्नुभयो। अन्तर्राष्ट्रिय मञ्चमा भारतले निर्वाह गरेको नेतृत्वदायी भूमिका विशेष गरी जी-२० को अध्यक्षताबारे राष्ट्रपति मुर्मूले उल्लेख गर्नुभयो। 

सो अवसरमा भारतीय राजदूतावासले भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारलाई रु पाँच करोड ३३ लाख  रकम वितरण समेत गरेको छ। कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीहरुले देशभक्ति गीतका साथै अन्य प्रस्तुति प्रस्तुत गरेका थिए।

Skip This