काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले जबर्जस्ती संसद् अवरुद्ध पारेर राखेको बताउनु भएको छ। उहाँले सत्तापक्षले नै संसद्को अवरोध खुलाउनुपर्ने बताउनु भयो ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफलपछि अध्यक्ष ओलीले भेटमा राष्ट्रपति पौडेलले संसद्मा रहेको गतिरोध अन्त्य गर्नु राम्रो हुने भनेको बताउनु भयो ।
‘संसद्को गतिरोध अन्त्य गराउने विषयमा छलफल भयो । उहाँले संसद् खोल्दा राम्रै हुन्छ भन्नुभयो, ओलीले भन्नुभयो, ‘मैले खोल्नैपर्छ भनेँ । संसद् अवरोध गर्नुहुँदैन, सत्तापक्षले जबरजस्ती संसद् अवरोध गरिरहेको छ, यो अवरोध सत्तापक्षले नै खुलाउनुपर्छ ।’
राष्ट्रपति पौडेललाई भेट्न नेकपा एमालेका अध्यक्ष ओली शितल निवास पुग्न भएको थियो । राष्ट्रपति पौडेल र प्रमुख प्रतिपक्षी दल नेतासमेत रहेका ओलीबीच बुधबार दिउँसो भेटवार्ता भएको हो ।
राष्ट्रपति पौडेल र ओलीबीच करिब एक घन्टा छलफल भएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट गत साउन २ गते बरामद भएको सुनका विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने अडान राख्दै एमालेले सदनमा लगातार अवरोध गर्दै आएको छ।




प्रतिक्रिया