काठमाडौँ-आज संघीय तीनवटा विषयगत समितिका बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार आज सार्वजनिक लेखा समितिसहित तीनवटा समितिको बैठक बस्न लागेको हो ।
जसअनुसार कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा पशु चौपायामा देखापरेको लम्पी स्कीन रोगको रोकथाममा भएको प्रभावकारिता, समस्या र समाधानका सम्बन्धमा माननीय कृषि तथा पशुपंछी विकास मन्त्री, मन्त्रालयका सचिव लगायतका पदाधिकारीसँग समितिमा छलफल गर्ने कार्यसूची छ ।
त्यस्तै दिउँसो १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा बेरुजु सम्परीक्षण सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने दिगो विकास तथा सुशासन समितिको बैठकमा १६ औं योजनाको अवधारणा पत्र र उक्त योजनामा दिगो विकास लक्ष्यको अन्तरआवद्धता, एलडिसी ग्रेजुएशन स्टाटेजी र हाइ लेभल पोल्टिकल फोरमको सम्बन्धमा छलफल हुनेछ ।
तर समितिहरुले हालसम्म नेतृत्व पाउन सकेका छैनन् । समितिको बैठकमा ज्येष्ठ सदस्यले अध्यक्षतामा गरी रहेका छन् ।
नेकपा एमालेले समितिको सभापति चयन नहुँदासम्म बैठकमा सहभागी नहुने प्रष्ट पारेको छ ।
एमाले सचिव तथा सांसद योगेश भट्टराईले यसअघि बसेको लेखा समितिको बैठकमा सभापति चयन नभएसम्म आफू बैठकमा नआउने घोषणा गर्नुभएको थियो ।
आज बस्ने लेखा समिति बैठकमा सहभागी नहुने उहाँले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो,’समितिको सभापति चयन भएको छैन । त्यसैले जाँदैन । म मधेसमा छु ।’ एमाले बैठकमा सहभागी नभए कोरम नपुगेर बैठक स्थगित हुनेछ ।




प्रतिक्रिया