काठमाडौँ -कोरम नपुगेर सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ। बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको हो।
प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित हुँदा समितिमा कोरम नपुगेको हो । बैठक सुरु हुनका लागि २६ सदस्यमध्ये १४ जना उपस्थित हुनैपर्छ ।
एमालेले समितिको यसअघिको बैठकमा नै सभापति चयन नभएसम्म बैठकमा नआउने जानकारी गराएको थियो । समितिको अध्यक्षता ज्येष्ठ सदस्य कांग्रेस सांसद अर्जुननरसिंह केसीले गरिरहेका छन् ।
एमाले सचिव तथा लेखा समिति सदस्य योगेश भट्टराईले सभापति चयन नभएसम्मका लागि बहिष्कार गर्ने घोषणा गर्नु भएको थियो । केसीले सकेसम्म चाँडो समितिले सभापति चयन गर्नुपर्ने बताउनु भयो ।
गत वेशाख १५ मा संसदीय समिति गठन भए पनि सभापति चयन हुन सकेको छैन। प्रतिनिधिसभा नियमावली २०७९ अनुसार सभामुखले समिति सभापति निर्वाचनको दिन तोक्नुपर्ने व्यवस्था छ । सभामुख घिमिरेले भने राजनीतिक दलहरूबीच सहमति नभएको भन्दै सभापति चयनको दिन तोकेका छैनन् ।




प्रतिक्रिया