अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललिता निवास प्रकरण: पूर्वप्रधानमन्त्री माधव र बाबुरामसँग घरमै पुगेर लियाे सीआईबीले बयान

ललिता निवास प्रकरण: पूर्वप्रधानमन्त्री माधव र बाबुरामसँग घरमै पुगेर लियाे सीआईबीले बयान


काठमाडौं-नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू  माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई सँग बयान लिएको छ। 

सिआइबी उच्च स्रोतका अनुसार आइतबार साँझ दुई पूर्वप्रधानमन्त्रीको बयान लिइएको हो। 

नेपालको प्रधानमन्त्रीत्व कालमा ललिता निवास जग्गाकाबारेमा निर्णय भएको थियो । नेपालको कोटेश्वरस्थित निवासमै पुगेर सीआईबीको टोलीले बयान लिएको हो। गएराति नै सीआईबीले अर्का पूर्वप्रधानमन्त्री भट्टराईसँग पनि बयान लिएको थियो । सीआईबीको टोली भट्टराई निवास टोखामा पुगेर बयान लिएको नेसपाका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिनु भयो।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले मन्त्रिपरिषदको निर्णयमाथि समेत अनुसन्धान गर्न आदेश दिएपछि तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईमाथि पनि अनुसन्धान गर्न बाटो खुलेको थियो ।

निर्णय गर्ने वा निर्णय प्रक्रियामा सहभागी हुनेहरुलाई अनुसन्धानको दायरामा नल्याई अह्राए खटाएको काम गर्ने स्तरका कर्मचारी एवम् सम्पत्ति लगानी गरी जग्गा खरिद गर्नेलाई मात्र अनुसन्धान केन्द्रित भएकाले यसले समग्र न्याय प्रणालीप्रतिको आमविश्वासलाई समेत जोखिममा पारेको आदेशमा उल्लेख छ।

आदेशमा विभिन्न मितिमा भएको ललिता निवासको जग्गा व्यक्तिको नाममा ल्याउने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय तथा निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्ष रुपमा संलग्न हुनेहरु, मन्त्रालयस्तरमा सो निर्णय गर्न किटानी प्रस्ताव पेश गर्ने वा प्रस्तावमा संलग्न माथिल्लो तहका पदाधिकारी वा अधिकारीको पदसोपानबाट समेत गरी अगामी दिनमा अविलम्ब अनुसन्धान सिध्याउन उल्लेख गरिएको छ।

तर, उनीहरूलाई जोगाउन गठबन्धनले सीआईबीलाई समेत दबाब र प्रभावमा पारेको भन्दै तीव्र आलोचना भएको थियो । सोधपुछसम्म पनि नगरी अनुसन्धान प्रतिवेदन बुझाउन लागिएको भन्दै सीआईबीमाथि प्रश्न उठाइएको थियो ।