काठमाडौं-नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने भएको छ।
सिआइबी उच्च स्रोतका अनुसार केही समयपछि सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउने तयारी भइरहेको छ।
यसअघि आइतबार साँझ सिआइबीले प्रकरणमा नाम जोडिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग पनि बयान लिएको थियो।
ललिता निवासको १४२ रोपनी सरकारी जग्गा नक्कली मोही खडा गरी व्यक्तिमा नाममा सारेको प्रकरणमा सिआइबीले अनुसन्धान गरेको हो।
गत साउन २१ गते मात्रै सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा मन्त्रिपरिषदका निर्णयकर्ताहरूमाथि पनि छानबिन गर्न आदेश दिएको थियो। अदालतले २०६६ चैत २९ गते, २०६७ वैशाख ३१ गते, २०६७ साउन २८ गते र २०६९ असोज १८ गते मन्त्रिपरिषद बैठकबाट भएका निर्णय र त्यस निर्णयमा सहभागीहरूमाथि अनुसन्धान गर्न आदेश दिएको हो।
२०६६ र २०६७ सालमा माधव नेपाल प्रधानमन्त्री थिए भने २०६९ सालमा बाबुराम भट्टराई प्रधानमन्त्री थिए। ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्याउन भूमिका खेलेको आरोप उनीहरूमाथि छ।




प्रतिक्रिया