अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिशूलीमा बस खस्दा ८ जनाको मृत्यु

त्रिशूलीमा बस खस्दा ८ जनाको मृत्यु


धादिङ–धादिङको गजुरीमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। 

प्रहरीले उद्धार गरेकामध्ये ८ जनाको मृत्यु भएको छ भने ५ जना घाइते अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक दीपक न्यौपानेले जानकारी दिनु भयो । मृतकको सनाखत हुन बाँकी छ। 

काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान करिब ११ बजे त्रिशूली नदीमा खसेको हो। 

धादिङ प्रहरीका अनुसार पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२, स्थित चालिसेबाट बस त्रिशूली नदीमा खसेर दुर्घटनामा परेको हो।

प्रहरी निरीक्षक न्यौपानेले मृतकको संख्या बढ्न सक्ने बताउनु भयो। ‘बसमा कति यात्रु सवार थिए, खुलेको छैन,’ उहाँले भन्नुभयो, ‘हामी सम्पूर्ण विवरण संकलन गरिरहेका छौँ।’ 

उहाँले दुर्घटनाका मृतक र घाइतेको सबै विवरण आउन समय लाग्ने बताउनु भयो। ‘बस नदीमा डुबेको छ। कतिपयलाई बाढीले बगाएको पनि हुनसक्छ। कतिपय घाइते आफैँ हिँडेर अस्पताल पनि जानु भएको छ। हामी यो सबै विवरण लिँदै छौँ,’ न्यौपानेले भन्नुभयो ।

दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डीएसपीको कमान्डमा ६ जना र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट अर्का डीएसपीको कमान्डमा ८ जना गोताखोरसहित २६ जना सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको छ।