अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रज्ञा-प्रतिष्ठानको ४०औं प्राज्ञसभा सुरू

प्रज्ञा-प्रतिष्ठानको ४०औं प्राज्ञसभा सुरू


काठमाडौँ-चालु आर्थिक वर्षका लागि कार्यक्रम र बजेट पारित गर्न नेपाल प्रज्ञा–प्रतिष्ठानको ४०औँ प्राज्ञसभा सुरु भएको छ।

प्रतिष्ठानका पूर्व कुलपति वैरागी काईलाले आज शुभारम्भ गर्नुभएको सो सभामा प्राज्ञा परिषद्बाट पारित भएका कार्यसूची र निर्णय अनुमोदन गरिने भएको छ । सभामा आर्थिक वर्ष २०७९/८० को कार्यक्रम तथा बजेटको वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०८०/८१ कार्यक्रम तथा बजेट अनुमोदन, प्रतिष्ठानको नियमावली, २०६७,  कलाकार तथा कर्मचारी सेवासम्बन्धी नियमावली, २०७७ र आर्थिक प्रशासन नियमावली, २०७९ का केही नियममा समसामयिक संशोधनका कार्यसूची रहेका छन् ।

पूर्व कुलपति काईलाले राज्यले प्राज्ञिक निकायलाई पर्याप्त बजेट नदिएर उपेक्षा गर्ने गरेको बताउनुभयो ।  उहाँले बजेट वृद्धिका लागि प्रतिष्ठानका कुलपति र सदस्यसचिव मन्त्रालयका उपसचिव तथा सहसचिवको कार्यकक्षमा धाउनुपर्ने बाध्यता आफूहरुले पनि व्यहोरेको सुनाउनुभयो।

प्रतिष्ठानका कुलपति भूपाल राईले ‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा–प्रतिष्ठान’ भन्ने उद्घोषसहित आफूहरुले कार्यप्रारम्भ गरेको उल्लेख गर्दै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका पछि प्राज्ञिक क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा प्रस्ताव गर्नुभयो।

 राजनीतिज्ञ र कर्मचारीतन्त्रले प्राज्ञिक क्षेत्रलाई महत्व नदिएको गुनासो गर्दै उहाँले ज्ञान र विचारको विकेन्द्रीकरण गर्ने पक्षमा आफूहरू अग्रसर रहेको उल्लेख गर्नुभयो ।

भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले सबै राष्ट्रभाषाको प्रज्ञा प्रतिष्ठान हो भन्ने मान्यता र सोचलाई आत्मसात गरेर काम गर्न सुझाव दिनुभयो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले प्रज्ञा प्रतिष्ठानलाई व्यवस्थितरूपमा सञ्चालन गर्न कानुन संशोधन हुनुपर्नेमा जोड दिनुभयो भने ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले तीनवटै प्रज्ञा–प्रतिष्ठानबीच सहकार्य हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा प्रतिष्ठानको नयाँ प्रकाशन ‘समाज अनुसन्धान’ पत्रिका विमोचन गरिएको थियो ।

Skip This