विराटनगर-नेपाली काँग्रेसका कोशी प्रदेशसभा सदस्य खगेनसिंह हाङगामले जिल्ला प्रहरी कार्यलय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपि) राजन लिम्बूलाई मार्ने धम्की दिएका छन् ।
हाङगामले लिम्बूको उनको परिवारै सखाप पार्ने धम्की दिएका हुन्। कांग्रेसनिकट तरुण दल र नेपाल विद्यार्थी संघले शुक्रबार ताप्लेजुङ प्रहरीविरुद्ध गरेको प्रदर्शन कार्यक्रमका क्रममा डीएसपी लिम्बूसहित उनको परिवारका सबै सदस्य मार्ने धम्की दिएका हुन्।
बिहीबार राति कोशी प्रदेशका प्रदेशसभा सदस्य हाङगामलाई प्रहरीबाटै आक्रमण भएको भन्दै तरुण दल र नेविसंघले शुक्रबार सुरक्षा निकायविरुद्ध प्रदर्शन गरेका हुन्।
यसपछि भएको खुला सभामा प्रदेश सांसद हाङगामले डीएसपीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका हुन्।
‘अबको कुनै बेला पनि सरकार नेपाली कांग्रेसको नेतृत्वमा भयो भने कहाँ बस्छस्रु कहाँ लुक्छस्रु के खान्छस्रु कस्तो लुगा लाउँछस्रु तेरो बाउ आमा कहाँ छरु तेरो छोराछोरी कहाँ छ’, सार्वजनिक भिडिओमा उनले भनेका छन्, ‘त्यो पनि पत्ता लाएर हामी मार्छौं।’
हाङगामको धम्की यस्तो छ-
तेरो बर्दी खोल्न पनि हामी तयार छौँ। अबको कुनै बेला पनि सरकार नेपाली कांग्रेसको नेतृत्वमा भयो भने कहाँ बस्छस्? कहाँ लुक्छस् ? के खान्छस् ? कस्तो लुगा लाउँछस् ? तेरो बाउआमा कहाँ छ ? तेरो छोराछोरी कहाँ छ ? त्यो पनि पत्ता लाएर हामी मार्छौं। पानीमुनि लुकोस् कि पानीमाथि, खबरदार सक्छस् भने यहीँ आइज। लड्न आइजो, यहीँ आइजो। म लुगा खोल्न तयार छु तँसँग, आइज। यहाँ आइज, खेल्न सक्छस् भने आइज। तेरो पेस्तोल लिएर आउँछस् कि बर्दी खोलेर आउँछस् ? तँलाई म ३० सेकेन्ड राख्दिनँ बाँकी। याद राख् तँलाई। यो पनि खोल्, तेरो बर्दी खोल्। मजस्तो राजनीतिक भेला गर्न आइज। तिमी राजनीतिक बहस गर्छौ कि जनताको सेवा गर्छौ कि ? देश विकास गर्छौ कि समृद्धिको विकास गर्छौ ? वाकयुद्ध गरौँ। होइन भने मुठभेड पनि गरौँ तँ डीएसपीसँग। हेरौँला तँ डीएसपीलाई। तेरो रागतमा पनि रातै रगत बगेको छ, यहाँ सारा हाम्रो रगतमा पनि रातै रगत बगेको छ। तर राजनीतिकको एउटा उखरमाउलो तातिएको बेला हामी मान्छे मार्न पनि डराउँदैनौँ, मृत्युसँग पनि डराउँदैनौँ।






प्रतिक्रिया