काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यती होल्डिङ्सलाई खेद्नेहरु दलाल पुँजीवादीहरु भएको दाबी गर्नुभएको छ।
एमालेनिकट सहकारी तथा गरिबी निवारण विभागले आज च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सो कुरा बताउनु भएको हो।
यती होल्डिङ्सलाई पनि सरकारले दुःख दिएको अध्यक्ष ओलीले टिप्पणी गर्नु भयो। उहाँले भन्नुभयो, ‘यती होल्डिङ्सलाई पनि सरकारले दुःख दिएको छ। यती होल्डिङ्सलाई खेद्नेहरु दलाल पुँजीवादीहरु हुन् । त्यसकारण उनीहरु खेद्छन्, किनभने त्यो राष्ट्रिय पुँजी हो। भारी बोकेर हिँड्ने शेर्पाले उसले कमाएको सम्पत्ति स्वीटजरल्याण्डमा लाँदैन, माल्दिभ्समा लाँदैन, श्रीलंकामा लाँदैन, बंगलादेश लाँदैन, भारत लाँदैन, मुम्बइमा होटल छैन, श्रीलंकामा होटल छैन, यस्तालाई पनि गर्न दिन्छ भनेका भन्यै छन् माओवादीहरु ।’
सरकारको यस्तो रबैयाका विरुद्ध बोल्नेहरुलाई दु:ख दिने गरेको अध्यक्ष ओलीले बताउनु भयो। सरकारले भन्ने गरेको भ्रष्टाचार र अनियमितताविरुद्धको कारबाहीलाई ओलीले दलाल पुँजीपतिको फण्डा र तमासा भएको जिकिर गर्नुभयो।
उहाँले भन्नुभयो, ‘यो दलाल पुँजीपतिहरुको तमासा हो, पोलिटिकल स्टन्ट, दलाल पुँजीवादीहरुको फण्डा हो, त्यसकारण त्यसका पछाडि कोही छन् भने दलाल पुँजीवादीहरु छन् । यिनको टुप्पी दलाल पुँजीवादीहरुको हातमा छ।’
कोरोना महामारीले पनि बिगार्न नसकेको नेपालको अर्थतन्त्र अहिलेको गठबन्धन सरकारका कारण बिग्रेको ओलीले टिप्पणी गर्नुभयो ।




प्रतिक्रिया