काठमाडाैं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले गठबन्धन सरकारले नै तस्करी काण्ड चलाइरहेकाे बताउनुभएकाे छ।
आज शनिबार भक्तपुरमा दीपेन्द्र राज गिरी स्पाइनल नेत्र प्रतिष्ठानको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले सरकारले अहिले विभिन्न तस्कारी काण्डहरु चलाएको भन्दै त्यसले देश विकास हुन नसक्ने बताउनु भएको हो।
तस्करी काण्ड चलाएर देश विकास हुनै नसक्ने अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले देशलाई सफल बनाउने हाे भने तस्करी काण्ड चलाउनै नहुने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘म काण्डहरु चलेका भनिराखेको छैन, चलाएका भनिराखेको छु, यस्ता काण्ड चलाउनु हुँदैन, यस्ता काण्डहरु चलाएर अनि देश विकास हुन्छ ? चील आयो चील आयो भन्ने, तर कुखुरा एकातिर बोकेर कुँद्ने ।’

अहिले देशकाे अवस्था अत्यन्त नाजुक रहेकाे भन्दै अध्यक्ष ओलीले हरेक नेपालीले यस नाजुक स्थितिमा परिवर्तन ल्याउनका लागि साेच्नुपर्ने बताउनुभयाे । देशकाे मूल्यमा कुनै व्यक्तिका स्वार्थ चलाउन नसकिने उहाँले प्रष्ट पार्नुभयाे ।
सुन फल्छ भनेर काठमाडाैं आएकाे यहाँ त नुन पनि पाइने रहेनछ भनेर एक जना कलाकारले भनेकाे सुनाउँदै उहाँले गठबन्धन सरकार बनेपछि सुन तस्करी काण्डले कीर्तिमान राखेकाे बताउनुभयाे ।
अध्यक्ष ओलीले भन्नुभयाे, ‘ब्रेक सु मा सुनैसुन, भेपमा सुन, सिगरेट खान खाेज्याे सुनैसुन, पानी चलाउने माेटर ल्यायाे त्यसमा सुनैसुन, जे छाेयाे त्याे सुनैसुन, स्वर्ण युग आयाे भन्दैछ सरकार, यति सुन आएकाे छ फेरि स्वर्णयुग नआए कहिले आउँछ त भन्दैछ सरकार, तपाइँ भन्दै हुनुहुन्छ सरकारको विरोध गरेजस्तो हुँदैन त्यसो भन्दा, स्वर्ण युग नै आएको छ नि, जे छाेयाे सुन ।’
केरुङ भन्सारबाट आउने ट्रकमा समेत सुन तस्करी भइरहेकाे भन्दै उहाँले पहिला पहिला राताे चन्दन उत्तरतिर लगिने तर अहिले उत्तरतिरबाट सुन ओरालाे झार्ने काम भइरहेकाे बताउनुभयाे ।
देशमा देखिएका विकृति विसंगती राेक्न सकिने र राेक्नुपर्ने अध्यक्ष ओलीले बताउनुभयाे । नेपाल आफूहरुले बनाउन सक्ने बताउँदै उहाँले भन्नुभयाे, ‘हाम्राे देश हामीले बनाउन सक्छाैं, बनाउनुपर्छ, अरु कसैले बनाउँदैन ।’
शिक्षा सुधाराैं भनेर शिक्षकहरु एक दिन सडकमा निस्किँदा विद्यार्थीकाे पढाइ बर्बाद भयाे भनेर कराउनेहरु शिक्षण संस्था तथा विश्वविद्यालयमा १३८ ताला लाग्दा भने चुँ नबाेलेका अध्यक्ष ओलीले बताउनुभयाे । शिक्षण संस्थामा ताला लगाएर गलत काम भयाे कारबाही गराैं भन्दा आफ्ना मान्छे परेपछि कुनै कारबाही गर्ने कदम सरकारले नचालेकाे उहाँले बताउनुभयाे ।
देशप्रति इमान्दार भएर काम गर्नुपर्ने र अगाडि बढ्नुपर्ने अध्यक्ष ओलीले बताउनुभयाे । अहिलेकाे स्थितिमा सकारात्मक परिवर्तन ल्याउनैपर्ने उहाँले बताउनुभयाे । हाम्राे देश अरु कसैले आएर नबनाइदिने भन्दै अध्यक्ष ओलीले आफूहरुकाे गन्तव्य समृद्ध नेपाल सुखी नेपाली रहेकाे बताउनुभयाे । आफूले अघि सारेकाे राष्ट्रिय आकांक्षा भएकाले विराेधीहरुले सिधै उच्चारण नगरेर ताेडमाेड गरेर त्यही नै भन्ने गरेका अध्यक्ष ओलीले बताउनुभयाे ।




प्रतिक्रिया