काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् नेपालको मौलिक संवत्, ऐतिहासिक गौरव र राष्ट्रिय पहिचानको महत्वपूर्ण आधार भएको बताएका छन् ।
नेपाल संवत् ११४७ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले लिच्छवी राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकाका किसान तथा गरिब जनतालाई ऋणमुक्त गराएर शङ्खधर साख्वाले नयाँ युगको सुरुवात गरेको ऐतिहासिक घटनाको स्मरण गरेका छन् ।
उनले नेपाली समाज सभ्य, सहिष्णु र एकताको सूत्रमा आबद्ध रहेको उल्लेख गर्दै नेपाल संवत्जस्ता मौलिक परम्पराले नेपाली सभ्यता, इतिहास, स्वतन्त्रता र राष्ट्रिय पहिचानलाई सुदृढ बनाउँदै आएको बताएका छन् ।
काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा नेपाल संवत्को नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने गरिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाले जनताको स्वतन्त्रता र आर्थिक मुक्तिका लागि गरेका लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गरेका छन् ।
उनले निःस्वार्थ भावनाका साथ सामाजिक समानता, सुशासन, उन्नति र प्रगतिका लागि अग्रसर हुन आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले नेपाल संवत्ले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकता थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वाससमेत व्यक्त गरेका छन् ।
नेपालको स्वतन्त्रता, इतिहास, संस्कृति र राष्ट्रिय पहिचानलाई अझ सुदृढ बनाउन नेपाल संवत्ले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले नेपाल संवत् ११४७ का अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।



प्रतिक्रिया