काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले नेपाल संवत् नेपालको मौलिक समयचक्र र पहिचान भएको बताएका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गरेको नेपाल संवत् चन्द्रमामा आधारित मौलिक संवत् भएको उनले उल्लेख गरेका छन्।
म्हः पूजाको महत्त्वबारे चर्चा गर्दै उनले आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर आफैँले आफैँलाई पूजा गर्ने परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउने बताएका छन् । यस मौलिक परम्पराले नेवार समुदायमा आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको संरक्षण गर्दै जातीय एकतालाई थप प्रगाढ बनाएको उनको भनाइ छ।
त्यसैगरी, गोवर्धन पूजा तथा हली तिहारको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री शाहले कृषिकर्मका सहयात्री गोरुलाई पिठो, नुन र बावर खुवाउने तथा हलो, फालीलगायत कृषि औजारको पूजा गर्ने परम्पराको स्मरण गरेका छन्।
भैलो र देउसीका माध्यमबाट छरछिमेकमा आत्मीयता र सद्भाव बढ्ने उल्लेख गर्दै उनले मौलिक चाडपर्वले आपसी रिसराग भुलेर सामाजिक एकता र सहिष्णुताको भावना बलियो बनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले नेपाल संवत्, म्हः पूजा, गोवर्धन पूजा तथा हली तिहारको अवसरमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।



प्रतिक्रिया