अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वराष्ट्रपति भण्डारीद्वारा सामाजिक एकता, जागरण र पहरेदारीका लागि अपिल

पूर्वराष्ट्रपति भण्डारीद्वारा सामाजिक एकता, जागरण र पहरेदारीका लागि अपिल


काठमाडौँ-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका कतिपय स्थानमा भइरहेका क्रियाकलापका सन्दर्भमा सबैलाई जिम्मेवार बन्न, धैर्य धारण गर्न र संयमता अपनाउन अनुरोध गर्नुभएको छ।

सामाजिक एकता र सद्भाव कायम गर्ने सम्बन्धमा दिनुभएको सार्वजनिक सन्देशमा उहाँले नेपाली समाजमा सदियौँदेखि कायम रहेको धार्मिक, सांस्कृतिक एवं अन्तरसामुदायिक सद्भाव र सहिष्णुतामा गम्भीर प्रश्न उत्पन्न हुने गरी भएका घटनाप्रति ध्यानाकर्षण गराउनुभएको छ।

पूर्वराष्ट्रपति भण्डारीले भन्नुभएको छ, ‘समाजमा शान्ति खल्बलिने तथा प्रचलित कानुनको पालनामा प्रतिकूल असर पर्ने गरी नेपाली जनतालाई नै एकअर्काविरुद्ध उभ्याउने गतिविधिमाथि मलजल गर्न मिथ्या सूचना र झुटा समाचारको समेत उपयोग भइरहेकोतर्फ समेत म सबैको ध्यान आकृष्ट गर्न चाहन्छु।’

नेपाली समाजको धार्मिक, सांस्कृतिक, भाषिक तथा जातीय विविधतालाई हामीले देशको सौन्दर्य र सम्पदाका रूपमा आत्मसात् गर्दै आएको बताउँदै उहाँले विविधताबीचको एकता, आपसी सद्भाव एवं सहिष्णुता नै हाम्रो राष्ट्रिय शक्ति भएको उल्लेख गर्नुभएको छ।

उहाँले भन्नुभयो, ‘हाम्रो संविधानले पनि ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भनी नेपाल राष्ट्रलाई परिभाषित गरेको छ।’

संविधानले सबै नेपाली जनतालाई सम्मान र समानताको अधिकार प्रदान गरेको हामी सबैमा विदितै रहेको उल्लेख गर्दै उहाँले सबै नागरिकलाई आ–आफ्नो धर्म, संस्कृति र परम्पराको निर्वाध पालनाका लागि हाम्रो संविधान, कानुन र राजनीतिक संरचनाले पर्याप्त स्थान दिएको बताउनुभएको छ।

पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, ‘हाम्रो मुलुकमा कसैले पनि आफूलाई कुनै खास भौगोलिक, जातीय, भाषिक वा सांस्कृतिक पृष्ठभूमिका कारण उच्चताबोध वा हीनताबोध गर्नुपर्ने अवस्था छैन।’

इतिहासको अवशेषका रूपमा समाजमा अझसम्म कायम रहेका कतिपय कुरीति, तुस र असन्तोषलाई आपसी संवाद, अन्तक्र्रिया र कानुनी उपचारका माध्यमबाट मेटाउँदै जानुपर्नेमा जोड दिँदै उहाँले हामीले आपसी विश्वास र सहिष्णुताको वातावरणलाई नयाँ उचाइमा पु¥याउन आवश्यक रहेको बताउनुभयो।

पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, ‘एकअर्काको धार्मिक आस्था र सांस्कृतिक परम्परालाई सम्मान गर्ने ऐतिहासिककालदेखिको हाम्रो असल परम्परालाई थप सुदृढ तुल्याउनुपर्दछ ।” जातीय र धार्मिक सद्भाव कायम राखेर मात्र समाजमा सबै नागरिकको सुरक्षा एवं सम्मानको प्रत्याभूति दिन सकिने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘हामीलाई हाम्रै देशको माटोमा विकास भएका जनक, बुद्ध, वैदिक, शैव तथा प्रकृतिपूजक सभ्यताले यही शिक्षा दिँदै आएका छन्।’

आजको घडीमा हामी सबैले हाम्रो सभ्यताका मार्गदर्शनलाई गहिरो गरी आत्मसात् गर्नसक्नुपरेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले हाम्रासामु समाजलाई थप उन्नति र प्रगतिको दिशातर्फ अगाडि बढाउन चुनौती भए पनि हामीभित्रको सङ्कल्प बलियो रहेको विचार प्रकट गर्नुभयो।

 उहाँले भन्नुभएको छ, 'कुनै पनि प्रकारका विभाजनकारी प्रवृत्तिबाट प्रभावित नभई नेपालको पहिचान र प्रगतिको आधारशिलाका रूपमा रहेको जातीय, धार्मिक एवं सामाजिक सद्भावलाई जोगाउन हामी फेरि एकपटक एकताबद्ध बन्नुपरेको छ।' राष्ट्र निर्माणका लागि कटिबद्ध रहेको उल्लेख गर्दै उहाँले प्रत्येक नागरिकले आफूलाई सम्मानित र समग्रताको अभिन्न अङ्गका रूपमा स्वीकार गरिएको महसुस गर्न सक्नुपर्नेमा जोड दिनुभयो।

उहाँले भन्नुभयो, ‘सुदृढ राष्ट्रिय भावना र सद्भावप्रतिको हाम्रो प्रतिबद्धताले नै हामीलाई निरन्तर अगाडि बढ्न मार्गनिर्देशन गर्नेछ भन्ने विश्वाससहित सबैमा सामाजिक एकता, जागरण र पहरेदारीका लागि हार्दिक अपिल गर्दछु ।’