अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शब्दविम्बमा सत्यमोहन’ काे बहुआयाम

शब्दविम्बमा सत्यमोहन’ काे बहुआयाम


काठमाडौँ-‘हितोपदेश’ सुभाषित श्लोकको संस्कृतमा एउटा उक्ति छ, ‘एकश्चन्द्रस्तमो हन्ति न च तारागणोकपि च’ अर्थात् “आकाशमा करोडौँ ताराहरू छन् । तिनले राति उज्यालो दिन सकेका हुँदैनन, करोडौँ भएर पनि के गर्नू तर एक्लो चन्द्रमाले रातको अन्धकारमा उज्यालो दिन सक्छ, अँध्यारालाई नाश गरिदिन्छ र त्यसमा पनि त्यो प्रकाश सूर्यको रापजस्तो होइन।” हो, यस्तै चन्द्रमा हुनुहुन्थ्यो सत्यमोहन जोशी । वाङ्मय शताब्दी पुरुष जोशीले भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन र पुरातत्त्वका क्षेत्रमा पुर्‍ययाएको योगदान अतुलनीय छ।

फलेको वृक्षको हाँगो निहुरिए झैँ उहाँमा कुनै घमण्ड थिएन। शालीन एवं मिलनसार व्यवहार र उच्चकोटीको विचार नै उहाँको विशेषता थियो। गाउँका सर्वसाधारणदेखि दरबारको उच्च वर्गका मानिससँग पनि उहाँको उत्तिकै पहुँच र सम्बन्ध थियो। उहाँ सर्वसाधारणको भाषा राम्ररी बुझ्नुहुन्थ्यो। देशको अवस्थिति र परिस्थितिलाई नजिकबाट नियाल्नुभएका बहुआयामिक व्यक्तित्व उहाँ नेपाललाई स्वर्गकै रूपमा व्याख्या गर्नुहुन्थ्यो। विश्वका धेरै मुलुकको भ्रमण गरिसक्नुभएका र संसार चिन्नुभएका उहाँ नेपाल जस्तो सुन्दर र असीमित सम्भावनायुक्त देश विश्वमा कहीँ नभएको  हामीलाई भेटमा सुनाउनुहुन्थ्यो। उहाँले सरकारी सेवामा रहँदा विभिन्न जिम्मेवारी पूरा गर्दै देशका प्रायः सबै ठाउँमा पुग्नु मात्र भएन,  त्यहाँको कला, साहित्य, संस्कृतिलाई टपक्क टिपेर मूल प्रवाहमा ल्याउनुभएको थियो।

शताब्दीसम्म बाँचेर निरन्तर नेपाली भाषा, साहित्य र संस्कृतिका श्रीवृद्धिमा लगाउने असाधारण शक्ति र सामथ्र्यका धनी जोशीको जीवनका विभिन्न पाटालाई सङ्गृहीत गरेर प्रकाशित ‘शब्दविम्बमा सत्यमोहन’ (भुँडी पुराण, २०७९)  मा  जोशीको जीवनी, भाषा, साहित्य, लोकसंस्कृतिको अन्वेषण र उनका जीवनका विविध आयाम मात्र समेटिएका छैनन्, नेपालको साहित्य, संस्कृति र पत्रकारिता क्षेत्रमा ख्याति कमाएका धेरै लेखक, साहित्यकार, संस्कृतिविद्, पत्रकार आदिका विचार र धारणा पनि पढ्न पाइन्छ।  कृतिमा जोशीको जीवन र जीवनशैली, सेवा र योगदान, कदर र सम्मान तथा  आदर्शका बारेमा विभिन्न दृष्टि र कोणबाट बुझ्न सकिन्छ।

“सङ्घर्षले सत्यमोहनलाई धेरै सिकायो, सत्यमोहनले सबैलाई सङ्घर्ष सिकाए”,   पुस्तकका सम्पादक गोपीकृष्ण ढुङ्गानाले सम्पादकीयमा लेखेको यस उक्तिले जोशीको जीवनको सङ्घर्ष र प्राप्त गरेको सफलतालाई छर्लङ्ग पारेको छ। कहिल्यै नथाकी,  नहारी र नरोकिई आफ्ना कर्ममा जुटिरहने  दरिलो आत्मबल र बलियो आत्मविश्वासका धनी जोशीको निधनपछि उहाँबारे लेखिएका समाचार, सम्पादकीय, श्रद्धाञ्जलि लेखरचना,  आलेख,  अन्तर्वार्ता आदिलाई एउटै पुस्तकमा समावेश गरेर पत्रकार ढुङ्गानाले पाठकलाई ठुलै गुन लगाउनुभएको छ। 

तीन पटक मदन पुरस्कार पाउने जोशीका नेपाली र नेपाल भाषामा लिखित ६० भन्दा बढी पुस्तक प्रकाशित छन्। नेवार भएर पनि उनी नेपाल भाषा र नेवारी संस्कृतिमा मात्रै खुम्चिनुभएन। नेपाली भाषा, संस्कृति र साहित्यका विकासमा पनि उहाँको ठुलो योगदान गर्नुभएको छ। सादा जीवन उच्च विचारका धनी उहाँमा कहिल्यै घमण्ड, अहं वा फुर्तीफार्ती देखिएन । रसिलो, भरिलो र झरिलो फलफूल जस्तै उहाँमा नम्रता र निहुरिने दुर्लभ गुण भरिपूर्ण थियो । जुनसुकै भूमिका र जिम्मेवारीमा रहँदा पनि उत्तिकै कुशलता प्रदर्शन गर्न सक्ने प्रबुद्ध व्यक्तित्व उहाँ लोक वाङ्मयका विविध विषयका इन्साइक्लोपेडिया नै हुनुहुन्थ्यो भन्ने तथ्य पुस्तकको अध्ययनबाट पाइन्छ। 

जोशीको समग्र जीवनवृत्तलाई एउटै पुस्तकमा समेट्ने जमर्को गर्ने सम्पादकको मेहनत र धैर्यको तारिफ गर्नैपर्छ। पुस्तकभित्र यति धेरै सामग्रीको सङ्कलन, संयोजन र सम्पादन एक्लैले गर्न सक्नु चानचुने कुरा होइन।  पुस्तक पढेर पाठकले जोशीको जीवनबाट धेरै  सिक्न, बुझ्न र जान्न सक्छन्। यस्ता बहुप्रतिभाशाली व्यक्तित्वका बारेमा लेखिएको पुस्तकको औचित्य कहिल्यै सकिँंदैन, बरु युगयुगसम्म सान्दर्भिक रहिरहन्छ। “न अरूलाई तराजुमा जोखे, न जोखिए अरूको तराजुमा। बाधाहरू पन्छाए, परिस्थितिभन्दा माथि उठे र त जुरुक्क उठेको देखिए सत्यमोहन सबैका आँखामा। वास्तवमा सत्यमोहनले प्रत्येक सेकेन्ड र मिनेटलाई महत्त्व दिएर सदुपयोग गरेकाले नै महान् बने”, ढुङ्गाना लेख्नुहुन्छ। 

पुस्तकमा उहाँका केही अप्रकाशित र निधनअघि लिइएका वा प्रकाशित सामग्री पनि समेटिएका छन्। यसरी उहाँका बारेमा बुझ्न, अध्ययन गर्न र ती लेख सामग्रीको दस्तावेजीकरण गरी संरक्षण गर्न सहज भएको छ। 

आठ खण्डमा विभाजित पुस्तकमा लेख र आलेख ३२, परिशिष्टाङ्कका आलेख १७, समाचार १७, सम्पादकीय सात, अन्तर्वार्ता चार र कविता तीन समावेश छन् । पहिलो लेख खण्डमा जोशी स्वयंदेखि अन्य विभिन्न लेखकका लेखको सङ्कलन छ । जोशीलाई नजिकबाट चिनेका तथा उहाँसँग निरन्तर सम्पर्कमा रहेका विभिन्न लेखक, साहित्यकार र पत्रकारका अढाइ दर्जनभन्दा बढी लेख यस खण्डमा समावेश गरिएका छन् । दोस्रो खण्डमा उहाँको निधनपछि राष्ट्रिय दैनिकलगायत विभिन्न पत्रपत्रिकामा प्रकाशित सम्पादकीय समावेश गरिएका छन् । यी सम्पादकीयको अध्ययन गर्दा सञ्चारमाध्यमका नजरमा उहाँको उचाइ निकै माथि रहेको पाइन्छ । तेस्रो खण्डमा विभिन्न समयमा विभिन्न व्यक्तिले जोशीसँग लिएका तीन अन्तर्वार्ता समाविष्ट छन् जसमा व्यक्त विचार आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन्।

चौथो परिशिष्टाङ्क खण्डमा राष्ट्रकवि माधव घिमिरेलगायत प्रतिष्ठित लेखक, साहित्यकार, संस्कृतिविद्, पत्रकारद्वारा लेखिएका गहन र अत्यन्त जानकारीमूलक विचार र अभिव्यक्ति समेटिएका छन्। पाँचौंँ खण्डमा विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचार तथा छैटौंँ खण्डमा तीन कविका जोशीप्रति समर्पित कविताहरू छन्। अन्तिम खण्डमा  जोशीका केही मुख्य कृति र तस्बिर समावेश गरिएका छन्।

जोशीका जीवनका विभिन्न पाटालाई केलाउँदै पुस्तकमा समाविष्ट सामग्रीको अध्ययन गरिसकेपछि कुनै एक चिनारी मात्रैले उहाँलाई चिनाउन सम्भव हुँदैन। संस्कृतिदेखि साहित्य, कला, सिक्का र हुलाक टिकटको सङ्ग्रहलगायत विभिन्न विषयमा उहाँको अतुलनीय योगदान रहेको पाइन्छ। परिश्रमको फल मीठो हुन्छ भने झैँ अन्य कुनै नेपालीले नपाएको सम्मान र पदवी पाउन उहाँ सफल हुनुभएको छ। उहाँ त्यस्तो एक मात्रै नेपाली हुनुहुन्थ्यो जसको जीवित रहँदै तस्बिराङ्कित चाँदीको सिक्का निष्काशन गरिएको थियो। सय, १००० र दुई हजार ५०० का सिक्काको एउटा पाटामा जोशीको तस्बिर छ भने अर्कापट्टि सगरमाथाको तस्बिर छ।

पुस्तक बालबालिकादेखि युवा र वृद्धवृद्धासम्मलाई उपयोगी बनेको छ। सम्पादक ढुङ्गानाले भने जस्तै समयले जोशीलाई बनाएको र जोशीले समयलाई बनाएको देखिन्छ । उहाँ नेपालको प्रतिबिम्ब नै हुनुहुन्थ्यो। उहाँले जीवनको हरेक क्षणलाई अर्थपूर्ण बनाउनुभयो, जसले गर्दा उहाँँलाई सगरमाथाको उचाइमा राख्न सकियो। सम्पादक आफँैं पनि अनुसन्धानमा रुचि राख्ने पत्रकार भएका नाताले पनि पुस्तकमा अनुसन्धानकर्तालाई उपयोगी हुने गरी सामग्री समावेश गर्नुभएको छ। चार सय २० पृष्ठको पुस्तकमा रहेका लेख, आलेख आदिले उहँँलाई युगौँँयुगसम्म स्मरणीय र अजम्बरी बनाउनेमा सम्पादकसमेत ढुक्क देखिनुहुन्छ। 

Skip This