अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चाडपर्व लक्षित सहुलियत मूल्य पसल आजदेखि सञ्चालन, कहाँ-कहाँ रहनेछन् बिक्री केन्द्र ?

चाडपर्व लक्षित सहुलियत मूल्य पसल आजदेखि सञ्चालन, कहाँ-कहाँ रहनेछन् बिक्री केन्द्र ?


काठमाडौँ–सरकारले आजदेखि चाडपर्व लक्षित सस्तो पसल सञ्चालनमा ल्याउँदैछ । सरकारले काठमाडौँसहित देशभरका ३५ स्थानमा सस्तो पसल सञ्चालन गर्ने भएको हो ।  

काठमाडौँ उपत्यकामा आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसहित ३५ स्थानमा बिक्रीस्थल रहने जनाइएको छ ।

सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आगामी मंसिर ३ गतेसम्म सहुलियत पसल सञ्चालनमा गर्नेछन् । 

दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सरकारले आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । 

चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

काठमाडौँ बाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङमा सस्तो पसल सञ्चालनमा आउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

यस्तै रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरसहित ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण पसल रहनेछन् ।

कम्पनीले सञ्चालनमा ल्याएका बिक्री कक्षबाट उपभोक्ताले सबै किसिमका चामल, दाल, गहुँ, आटा, पीठो, र सबै प्रकारका तेलमा प्रतिकिलो÷प्रतिलिटर रु सात तथा कर्णालीको सिमी, फापर, चिनो, कागुनो र खसीबोकामा प्रतिकिलो १० छुट पाउनेछन् । उपत्यकाभित्र रामशाहपथ, थापाथली, नख्खु र सूर्यविनायक तथा विभिन्न जिल्लामा रहेका बिक्री कक्षबाट सहुलियत दरमा खाद्यान्न उपलब्ध हुनेछ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बेच्नेछ । दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो २०, पनिर प्रतिदुई सय ग्राममा २० रुपैयाँ छुट दिनेछ ।