तेल अभिभ-प्यालेस्टाइनी अतिवादी समूह हमासले आफ्नो भूमिको रक्षाका लागि इजरायलमाथि फेरि आक्रमण गर्ने चेतावनी दिएको छ।
दुई पक्षबीचको जारी युद्धका कारण हजारौँको मृत्यु तथा लाखौं मानिस घरवारविहीन भएका बेला हमासले यस्तो धम्कि दिएको हो। हमासको सैन्य शाखाले गाजामा इजरायल आक्रमणसँग लड्न सक्षम रहेको बताएको छ।
हमासका ब्रिगेडका प्रवक्ता अबु ओबैदाले भनेका छन, ‘हामी हाम्रो भूमि रक्षाको पक्षमा छौं, पुनः इजरायलमाथिको हमलालाई दोहोर्याउँछौं ।’ हमासले इजरायलको प्रतिकारवाहीले नयाँ ढंगले सोच्न बाध्य बनाएको पनि बताएको छ।
‘शत्रुको कारबाहीले हामीलाई नयाँ विकल्पतर्फ लाग्न बाध्य तुल्याएको छ, जसले गर्दा शत्रुलाई अब ठूलो नोक्सान हुदैँछ अब शत्रुहरुले हाम्रो आक्रामणको प्रतिक्षा गरेर बसे हुन्छ,’ सैन्य बिग्रेड प्रवक्ता ओबैदाले भनेका छन्।
गत शनिवार बिहानै अप्रत्याशित र आश्चर्यजनक रुपमा हमासले आक्रामण गरेपछि इजरायलले पनि गाजापट्टीमा आक्रमण तीब्र पारिरहेको छ । इजरायलले तत्काल सो आक्रामण नरोकिने बताएपछि हमासले पनि पछि नहट्ने प्रष्ट पारेको हो।
इजरायलले गाजालाई पूर्णरूपमा घेरेको छ र पानी, इन्धन र बिजुलीको आपूर्ति बन्द गरेको छ। प्यालेस्टिनी क्षेत्रको एक मात्र विद्युत केन्द्र पनि इन्धन सकिए पछि बुधबारबाट बन्द गरिएको थियो । इजरायलले हमासले सबै बन्धकहरूलाई रिहा नगरेसम्म गाजा पुग्न कुनै पनि प्रकारको सहयोग नदिने बताउँदै आएको छ।
इजरायलले ११ लाख गाजाबासीलाई २४ घन्टाभित्र बाहिर निस्कन भन्दै अन्यथा मृत्युका लागि पर्खिन चेतावनी दिएकाे छ। इजरायलकाे यस्तो चेतावनी पछि संयुक्त राष्ट्रसंघले भनेकाे छ, ‘परिणाम भयावह हुने देखियो, यसलाई इजरायलले राेक्नुपर्छ।’
इजरायलमा हालसम्म कम्तिमा १२ सय र गाजापट्टीमा १४ सय मानिस मारिएको बताइएको छ। इजरायली सरकारको दावीअनुसार यी बाहेक इजरायली क्षेत्रमा कम्तीमा १५ सय हमास लडाकुको शव पनि फेला परेको छ । त्यस्तै, इजरायली क्षेत्रबाट अपहरण गरिएका करिब १५० जनालाई हमासले बन्धक बनाएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
यस घटनामा १० जना नेपालीले समेत ज्यान गुमाएका छन्। त्यस्तै, एक जना बेपत्ता छन् भने केही घाइतेको उपचार भैरहेको छ।






प्रतिक्रिया