अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखरामा नेपालकै पहिलो ठूलो ‘मोटरबाइक रेस’

पोखरामा नेपालकै पहिलो ठूलो ‘मोटरबाइक रेस’


कास्की-गण्डकी प्रदेशको राजधानी सहर पोखरालाई साहसिक खेलकुदको उत्कृष्ट गन्तव्य बनाउने लक्ष्यसहित नेपालकै पहिलो ठूलो मोटरबाइक रेस ‘फिसटेल रेसिङ कप २०२३’ हुने भएको छ।

नेपाल मोटर स्पोर्टस संस्था (नासा)सँग आबद्ध भिआर–४६ मोटर स्पोर्टस प्रालिले पोखरा रङ्गशालाभित्रको कालोपत्र सडकमा आगामी मङ्सिर ८ र ९ गते सो प्रतियोगिता आयोजना गरिने जनाएको छ।

प्र्रतियोगितामा एक सयभन्दा बढी प्रतियोगीहरुको सहभागिता रहने भिआर–४६ मोटर स्पोर्टसका प्रबन्ध निर्देशक माइकल थापाका अनुसार यस प्रतियोगिताले पोखराको आन्तरिक र बाह्य पर्यटनका लागिसमेत महत्त्वपूर्ण रहेको छ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः जनही नगद रु एक  लाख, रु ७५ हजार र रु ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन्। विजेता तिनै जना खेलाडीलाई अन्तर्राष्ट्रिय बाइक रेसमा सहभागिताको अवसर प्रदान गरिने आयोजकले जनाएको छ।

नेपालमा बाइक संस्कृतिको इतिहास लामो भए पनि यसको खेलकुदको संस्कृति नयाँ भएको जनाउँदै धेरैको रुचिको विषयसमेत भएकाले प्रतियोगितालाई ठूलो आकारमा आयोजना गर्न लागिएको प्रबन्ध निर्देशक थापाले बताउनुभयो। 

उहाँले भन्नुभयो, 'नेपालको बाइक रेसको इतिहासमा नै बृहत् मोटरबाइक रेस नेपालकै ठूलो ट्र्याक पोखरा रङ्गशालामा आयोजना हुनेछ। यसले बाइक रेस के हो भन्ने चिनाउने सँगै युवा खेलाडीहरुलाई यसतर्फ आकर्षण गराउनसमेत प्रभावकारी हुने विश्वास लिएका छौँ।'

गत वर्ष सानो आकारमा सम्पन्न गरिएको प्रतियोगिताले पनि आफूहरुलाई दोस्रो संस्करणको तयारी सँगै ठूलो आकार र धेरैको सहभागितामा प्रतियोगिता आयोजनाका लागि हौसला मिलेको थापाले बताउनुभयो।

प्रतियोगिता सम्पन्न गर्न रु ३५ लाख खर्च हुने जनाउँदै आयोजकले उक्त प्रतियोगिता अवलोकनका लागि टिकटको समेत व्यवस्था गर्न लागेको छ। साधारणतर्फ रु.दुई सय र भिआइपीतर्फ रु एक हजारदेखि रु पाँच हजारसम्मको टिकट बिक्री गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा एक सय ५० सिसी र छ सय सिसी गरी दुई प्रकारका बाइकको प्रयोग हुनेछ। सो प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समिति कास्कीले स्वीकृति दिएको बताइन्छ।

Skip This